Logo

कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार



डोटी, ३१ वैशाख: जिल्लामा कोरोना सङ्क्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना सङ्क्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ ।

चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार सेवा दिन थालेका छन् । पालिकामा रहेको स्वास्थ्य कार्यालयमा कोभिड अस्पताल सञ्चालन गरी दश श्ययासहितको आइसोलेशन कक्ष तयार गरी कोरोना सङ्क्रमितको उपचार गर्ने योजनाअनुसार उपचार कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए ।

गाउँपालिकामै कोरोना सङ्क्रमितको उपचार गर्ने जिल्लामा बडिकेदार पहिलो गाउँपालिका भएको अध्यक्ष चन्दको जिकिर छ । उहाँका अनुसार आइसोलेशनसमेत दश श्ययामा अक्सिजन सहितको व्यवस्था पनि मिलाइएको छ । गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार प्रक्रिया शुरु भएको गाउँपालिकामा कार्यरत चिकित्सक डा सुरज श्रेष्ठले बताए ।

उनले भने, “पालिकाको निर्णयअनुसार हामीले दश श्ययासहित अक्सिजनको व्यवस्था गरी कोरोना सङ्क्रमितको उपचार गर्न शुरु गरेका छौँ, कोरोना लागिहाले उपचार नपाएर मर्ने चिन्ता केही हदसम्म अन्त हुने भएको छ ।” यसभन्दा पहिले उक्त गाउँपालिकामा कोरोना सङ्क्रमित भएका व्यक्तिलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालमा लैजानुपर्ने अवस्था रहेको थियो ।

गाउँमै कोरोना सङ्क्रमितको उपचार गरिन थालेपछि सङ्क्रमितलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने समस्या समाधान भएको भन्दै स्थानीयवासी खुशी भएका बडिकेदार–१ का प्रकाश कलेलले जानकारी दिए । अस्पतालले कोरोना सङ्क्रमितको उपचार गर्न शुरु गरेपछि सङ्क्रमित बढ्दै गए अक्सिजनको अभाव हुने भन्दै चिन्ता थपिएको डा श्रेष्ठले जानकारी दिए ।

पालिकाले सञ्चालनमा ल्याएको उक्त कोभिड अस्पतालमा अहिले एक चिकित्सक, मेडिकल अधिकृत, एक हेल्थ असिसटेन्ट, एक अनमी, एक सिएमए र एक कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कूल १३ कोरोना सङ्क्रमित रहेकामा १२ को होम आइसोलेशन तथा एक जनाको कोरोना अस्पतालमा उपचार भइरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरिमा हालसम्म कूल ४२१ जनामा कोरोना सङ्क्रमण भएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्