Logo

माधव नेपालले धोका नदिएको प्रचण्डको प्रतिक्रिया



काठमाडौं, ३१ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपा पक्षले धोका नदिएको टिप्पणी गरेका छन् । शुक्रबार संघीय संसद भवन परिसरमा कोरोनाविरुद्धको खोप लगाएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा दाहालले यस्तो बताएका हुन् ।

उनले आफू अहिले नै माधव नेपाल पक्षले धोका दिएको भन्ने पक्षमा नपुगेको प्रतिक्रिया दिए । तर, नेपाल पक्षमा भने केही समस्याहरु भएको हुनसक्ने उनको बुझाई थियो । बरु, दाहालले नेपाल संविधान र लोकतन्त्रको पक्षमा रहेको भन्दै भोलि पनि सहकार्य हुनसक्ने विश्वास दिलाए ।

हिजो माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने हल्ला थियो । र, कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा पक्ष मिलेर नयाँ सरकार गठन गर्ने तयारी थियो । नेपाल पक्षले साँझ ४ बजेसम्म पनि आफ्ना मागहरु पूरा नभए राजीनामा दिने अल्टिमेटम दिएको थियो ।

तर, त्यो भन्दा अघि नै नेता नेपाल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तामा बसेका थिए । नेपाल पक्षको राजीनामा नआएको र जसपामा अध्यक्ष महन्थ ठाकुर पक्षले सरकार गठनमा साथ नदिएपछि विपक्षी गठबन्धनको सरकार बनेनन् । यो सँगै नेपाल पक्षले धोका दिएको चर्चा चलिरहेको छ । यही सन्दर्भमा दाहालको यस्तो प्रतिक्रिया आएको हो ।



प्रतिक्रिया दिनुहोस्