Logo

पार्टी कार्यालयमा आइसोलेसन कक्ष



अमरगढी, ३१ वैशाख: नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिए । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उनले बताए ।

आइसोलेसन निर्माणपश्चात उक्त स्थानमा अक्सिजन व्यवस्थापन गरिने जनाइएको छ । विशेषगरी गाउँघर तथा सदरमुकाम पुगेर बस्न समस्या भएकालाई निर्माण गरिएको आइसोलेसनमा राखिने कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए । कोरोना सङ्क्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएको थियो । त्यस्तै जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, स्यानिटाइजर, ग्लोब्स्जस्ता सामग्री सेवा दलले वितरण गरेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्