Logo

‘ओलीविरोधी गठबन्धन’ सरकार बन्नेमा प्रचण्ड अझै आशावादी, औल्याए माधव नेपालसँग भेटको सम्भावना



काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन बहुमतको सरकार निर्माणमा विफल भएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अझै त्यसको सम्भावना औल्याएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार गठनको सम्भावना अझै बाँकी रहेको औल्याउँदै एमाले नेता माधव नेपालसँग त्यतिबेला भेट हुनसक्ने बताएका हुन् ।

कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन संसद भवन पुगेका प्रचण्डले संविधानको धारा ७६ को उपधारा ५ मा माधवकुमार नेपालसँग फेरि भेट हुनसक्ने उनको भनाई थियो । उनले माधव नेपालले धोका दिएको भन्न नमिल्ने समेत बताए । पत्रकारको जिज्ञासामा प्रचण्डले भने,‘अहिले नै माधवजीले धोका दिनुभयो भन्नु अलि बढी नै हुन्छ ।’ उनले फेरि एकै ठाउँमा पुगिने विश्वास समेत व्यक्त गरे ।

संविधानको धारा ७६ को उपधारा ५ मा भेट हुनसक्छ भन्ने जिज्ञासामा प्रचण्डले भने,‘त्यो पनि हुनसक्छ ।’ यसबाट ओलीविरोधी गठबन्धन फेरि अर्को मौकामा रणनीतिक तयारीका साथ बढेको संकेत मिलेको छ ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम केपी शर्मा ओली प्रधानमन्त्री बन्नबाट रोक्ने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह विफल हुनुमा माधवकुमार नेपाल समूहको राजीनामा नआउनु पनि प्रमुख कारण बनेको थियो । नेपालले यसअघि राजीनामको तयारी गरेर सहमति गरिसकेपनि फेरि पछि हटेका थिए ।

अब संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले विश्वासको मत नलिए संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको प्रतिनिधि सभाको बहुमतको दाबी पुर्याउने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

धारा ७६ को उपधारा ५ को सरकार गठनका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह एक ठाउँमा आउँदा माधव नेपाल पनि उक्त गठबन्धनमा जाने सम्भावना रहन सक्छ ।



प्रतिक्रिया दिनुहोस्