Logo

प्रधानमन्त्री ओलीको बहाली : महामारी रोकथाममा एकजुट भएर लाग्न आह्वान



काठमाडौँ, ३१ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरेका छन् । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उनले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गरे।

महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उनले सचेत गराए । उनले भने, ‘‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन । कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन । सरकारले कडाइका साथ कारवाही गर्नेछ ।’’

प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गरे । उनले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा नवनियुक्त मन्त्रिगण र सरकारका उच्च कर्मचारीको सहभागिता थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उनी प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् ।-रासस



प्रतिक्रिया दिनुहोस्