Logo

ओलीका सामु अबको ३० दिन सबैभन्दा चुनौतीपूर्ण, धारा ७६ (५) फुत्किए सत्ता र चुनावी सरकार दुवै गुम्ने



काठमाडौं, ३१ वैशाख । अल्पमतको प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जेठको २९ गतेभित्र उनलाई विश्वासको मत लिनुपर्ने वाध्यात्मक अवस्था छ ।

विश्वासको मत लिन नसके देश फेरि संविधानको धारा ७६ को उपधारा ५ मा जान्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न प्रतिनिधि सभाका सदस्यमध्येलाई आव्हान गर्नेछिन् । बहुमत दाबी कसैले गरेमा प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।

संविधानको धारा ७६ को उपधारा ५ मा ओली नै प्रधानमन्त्री बन्ने प्रयास शुरु भइसकेको छ । उनले सपथ नलिदै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरे । तर, ठाकुरले स्वीकार गरेनन् ।

एमाले एक भई जसपाको १३ सांसदको साथ मिलेमा ओली बहुमतको प्रधानमन्त्री बन्न सक्छन् । तर, ओलीविरोधी गठबन्धन बनेमा उनको हातबाट प्रधानमन्त्री पदबाट फुत्कदैन सरकारको नेतृत्व लिएकै बेलामा चुनाव गराउने अवसर पनि गुम्छ ।

धारा ७६ को उपधारा ५ बमोजिम जो प्रधानमन्त्री बन्छ उसले बहुमत सिद्ध गर्न सकेन भने पनि प्रतिनिधि सभा विघटन गरी देशलाई ६ महिनाभित्र चुनावमा लान राष्ट्रपतिलाई सिफारिश गर्न सक्छ । त्यसैले धारा ५ अनुसार कि आफू प्रधानमन्त्री बन्ने कि कसैलाई नदिने रणनीतिका साथ ओली सक्रिय भएका छन् ।

ओलीले एमाले नेता माधवकुमार नेपालसँग ठोस सहमतिको प्रयास तिव्र पारेका छन् । त्यसका लागि उनले नेपाल र उनीनिकटस्थसँग भेटवार्ता तिव्र पारेका छन् । ३० वैशाखमा चपली हाइटमा भेटेवार्ता गरेका ओलीले आज नेपाललाई बालुवाटार बोलाएका छन् । सहमति नबने नेपाल फेरि विद्रोहको बाटोमा जान सक्छन् ।

नेपाल विद्रोहमा गएमा ओलीका लागि धक्का सावित हुनसक्छ । अर्कोतर्फ, महन्थ ठाकुर पक्षधर जसपा नेताहरुलाई गठबन्धनमा जान नदिन रोक्नुपर्ने वाध्यता पनि ओलीलाई छ । यसकारण पनि अब ओलीका लागि ३० दिन निकै चुनौतीले भरिन सक्छ ।



प्रतिक्रिया दिनुहोस्