Logo

अक्सिजनसहित सय शय्याकोे आइसोलेशन बनाउँदै प्रदेश सरकार



गलकोट, ३१ वैशाख: धौलागिरि अस्पतालमा कोरोना सङ्क्रमितका लागि शय्या थप्न गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको क्षमता बढाउन रकम निकासा गरेको जनाएको छ ।

धौलागिरि अस्पतालमा अहिले ३७ सङ्क्रमितको उपचार भइरहेको छ तर अस्पतालको आइसोलेशन क्षमता भने जम्मा २५ शय्याको छ । त्यससँगै तीन आइसीयु र दुई भेन्टिलेटर मात्रै छन् । जनशक्तिको अभाव खड्किरहेको सन्दर्भमा अस्पतालमा शय्या अभाव र अवस्था थप जटिल भएपछि केहीलाई पोखरा काठमाडौँ हेलिकप्टरमार्फत पठाइएको छ भने कम समस्या भएका बिरामीलाई बागलुङ नगरपालिकाले रातमाटामा निर्माण गरिएको आइसोलेशनमा राखिएको छ । छत्तीस शय्याको अक्सिजनसहितको रातमाटाको आइसोलेशनमा अहिले आठ सङ्क्रमित रहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

अस्पतालमा अक्सिजनसहितको थप १०० शय्या सेवा विस्तारका लागि प्रदेश सरकारले यही वैशाख २७ गते रु ६० लाख निकासा गरी अख्तियारी पठाएको सामाजिक विकास मन्त्रालयका डा रामबहादुर केसीले बताए । उनले अस्पतालमा तत्कालका लागि कोरोना नियन्त्रण गर्न उक्त रकम निकासा गरेको पत्र अस्पतालमा पठाउनुभएको थियो । पत्र प्राप्त भई कार्यान्वयनको तयारी थालेको अस्पतालले जनाएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष सञ्चालक समितिको निर्णयानुसार अस्पतालमा पिसिआर परीक्षणको दायरा बढाउन, शय्या व्यवस्थापन तथा निर्माण, अक्सिजन मर्मत र जडानका लागि रु ६० लाख विनियोजन भएर अख्तियारी आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए ।

मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङको स्वाब परीक्षणका लागि धौलागिरि अस्पतालको पिसिआर परीक्षण कम्तीमा दुई चरणमा गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवेयर जडान गर्न रु पाँच लाख र परीक्षणका लागि आवश्यक किट खरिदका लागि रु १५ लाख बजेट आएको छ । यस्तै अस्पतालमा गण्डकी प्रदेशकै बजेटमा दुई वर्षदेखि सञ्चालित अक्सिजन प्लान्ट मर्मतसंभारका लागि रु १० लाख, अस्पतालको सि ब्लकमा १०० शय्याको आइसोलेशन कक्ष बनाउन र व्यवस्थापन गर्न रु २० लाख र उक्त शय्यामा अक्सिजन प्लान्टको पाइपलाइन जडानका लागि रु १० लाख गरी जम्मा ६० लाख रकम पठाइएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशको उपप्रादेशिक अस्पताल बनाउनका लागि यसअघि अस्पताललाई १०० शय्या उपलब्ध भए पनि स्थान अभावका कारण थन्किएका थिए । सात वर्षदेखि सम्पन्न हुन नसकेको अस्पताल भवनमा अस्थायीरूपमा भए पनि शय्या व्यवस्थापन गर्न रकम आएको र यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया थालेको अध्यक्ष राना मगरले बताए ।

अस्पतालमा भने जनशक्तिको अभाव कायमै रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । उनले पिसिआर प्रयोगशाला दुई चरणमा सञ्चालनका लागि पर्वत, म्याग्दी र मुस्ताङका एक÷एक जना ल्याव टेक्निसियन प्रदेश सरकारले पठाए पनि अहिलेसम्म नआएको बताए । यस्तै प्रदेश सरकारले सि ब्लकको भुइँ तलामा मात्रै आइसोलेसन कक्ष बनाउन भनेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्