Logo

ईश्वर पोखरेल र भीम रावलबीच शक्तिसंघर्ष



काठमाडौं, ३१ वैशाख । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मुख्य संघर्ष सतहमा देखिएपनि दोस्रो पुस्ताका दुई नेताबीचको संघर्ष विवाद चर्कनुको एउटा कारण हो । ती दुई नेता हुन् एमालेको भावी नेतृत्व हात पार्ने रणनीतिका साथ बढेका ईश्वर पोखरेल र डा. भीम रावल ।

पोखरेल ओली समूहमा छन् । उनी एमालेको नवौं महाधिवेशनका निर्वाचित महासचिव हुन् । हाल पनि उनी महासचिव छन् ।

रावल पछिल्लो समय नेपाल समूहमा छन् । उनी एमालेको नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुन् । उपप्रधानमन्त्रीसहित गृहमन्त्री भइसकेका रावल प्रधानमन्त्री ओलीका कटु आलोचक हुन् । उनी भविष्यमा एमाले नेतृत्व लिने रणनीतिका साथ बढेका छन् ।

पोखरेल र रावलको आफ्नै गुट छ । उनीहरुको साथमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसद देखि केन्द्रीय कमिटीमा समेत पकड छ ।

ओली र नेपालबीच संघर्ष चर्कंदा पोखरेल ओली समूहबाट र रावल नेपाल समूहमा रहेर सक्रिय भए । तर, दुवै सहमति विकास गर्न भन्दा संघर्षमै केन्द्रित रहे । एमालेभित्रको ठूलो पंक्ति दुवै नेतालाई एकताविरोधी भन्न थालेका छन् । रावलले आज संसद भवनमा कोरोनाविरुद्धको खोप लगाउँदै ओलीसँग सहमति नभएको छलफल मात्र भएको प्रतिक्रिया दिएका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

नेकपा एमाले विभाजनको मुखमा पुग्न लाग्दा पनि पोखरेल र रावल एकताका लागि सक्रिय देखिएका थिएनन् । बरु ओली समूहका विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ र नेपाल समूहका योगेश भट्टराई र गोकर्ण बिष्ट सहमति बनाउन सक्रिय भए । विशेषगरी योगेश र गोकर्ण बालुवाटार र कोटेश्वर दौडेर ओली र नेपालको भेटवार्ता विकास गराउन सफल भए ।

एकता अभियानमा लागेका बामदेव गौतमसँग विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङले भेटेर सहमतिको वातावरण तयार गरेका थिए । नयाँ दल खोल्न ठिक्क परेका गौतमसहित माधवकुमार नेपाल र झलनाथ खनाल अचानक ब्याक भए । यसमा दोस्रो तहका नेताहरु नै सक्रिय रहे ।

एमालेको १०औं महाधिवेशनमा अहिलेकै नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र बामदेव गोतममध्येबाट दाबी देखिन्छ । त्यसपछिको महाधिवेशनमा नेतृत्वका लागि पोखरेल र रावल मुख्य दाबेदार देखिएका छन् । यसकारण पनि उनीहरु पकड बनाउने क्रममा एक अर्को समूहविरुद्ध आक्रामक बन्दै गएका छन् । सहमति भन्दा संघर्षमा दुवै नेताको जोडबल देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्