Logo

‘सांसद अपहरणकारी’ महेशबाट ‘सांसद व्यवस्थापक’ महेश



काठमाडौं, ३१ वैशाख । २०७७ साल १० वैशाखको दिन । महोत्तरी पुगेर नेकपा एमालेका सांसद महेश बस्नेतले तत्कालीन समाजवादी पार्टी नेपालका सांसद डा.सुरेन्द्र यादवलाई काठमाडौं लिएर आए । उद्देश्य थियो समाजवादी पार्टी फुटाउने ।

महेश बस्नेतको साथमा सांसद किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि थिए । यादवलाई काठमाडौंको होटलमा राखियो । तर, उनी भोलिपल्ट विहान त्यहाँबाट निस्किए । यादवले आफूमाथि अपहरणको आरोप लगाए । बस्नेतसहित तीनजनामाथि अपहरणको आरोप लाग्यो । प्रहरमिा उजुरीका लागि गए ।

सुरेन्द्र यादव अपहरणमा परेको भनिएको घटनाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकताको ढोका खोल्यो । ११ वैशाखमा दुवै दल एक भए । त्यसपछि अपहरणको उजुरी गर्न बाबुराम भट्टराई, उपेन्द्र यादव मात्र नभई राजेन्द्र महतो समेत मिसिए । बस्नेतसहित तीनजनामाथि अपहरणको उजुरी दर्ता गर्न पुग्ने अग्रपंक्तिमा महतो पनि थिए ।

डा. सुरेन्द्र यादव अपहरणको आरोप लगाउँदै महेश बस्नेतसहित तीनजनाविरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि पुगेका राजेन्द्र महतो

डा. सुरेन्द्र यादव अपहरणको आरोप लगाउँदै महेश बस्नेतसहित तीनजनाविरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि पुगेका राजेन्द्र महतो

२०७७ साल ३० वैशाखको दिन । महेश बस्नेत डोलेश्वरको रिसोर्टमा जसपाका १३ सांसदहरुको साथमा रहे । जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका १३ सांसदलाई डोलेश्वर पुर्याएर राति अबेरसम्म खानपान गराउने व्यवस्थापन महेश बस्नेतले नै गरेका थिए ।

बस्नेतको छेवैमा राजेन्द्र महतो बसेको तस्बिर समेत सार्वजनिक भएको छ । ठिक एक वर्ष अघि अपहरणको आरोप लागेका बस्नेत यसपटक जसपाका १३ सांसदको डोलेश्वर बसाईंका व्यवस्थापक भए ।

जसपाका सांसदहरुसँग महेश बस्नेत । तस्बिर साभारः नेपाल प्रेस

ओलीलाई पुनः प्रधानमन्त्री बनाउन महेश बस्नेतले १३ सांसदलाई डोलेश्वरमा व्यवस्थापन गरेको खुलिसकेको छ । यसमा उनी सफल पनि भए ।

यसैगरी पूर्वप्रधानमन्त्री समेत रहेका जसपा नेता डा.बाबुराम भट्टराईले पंकज राईको ट्वीटलाई रिट्वीट गरेका छन् । उक्त ट्वीटमा भक्तपुरको रिसोर्टमा केही जसपा सांसदहरुको सुरक्षामा अहोरात्र खटिनुभएका मधेसका मसिहा कामरेड महेश बस्नेत ! लेखिएको छ ।

पंकज राईले लेखेका छन्ः अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड-१९ नियन्त्रणको अर्थ-राजनीतिमा केन्द्रित होऊॅ। तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन/वितरण,बेड/उपकरण,जनशक्ति,खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं! जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला!



प्रतिक्रिया दिनुहोस्