Logo

सत्ताको निर्णायक संघर्ष अझै बाँकी, कस्ले मार्ला बाजी ?



काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संघर्षमा ३० वैशाखमा एउटा बाजी त मारेका छन् तर सत्तासंघर्षमा छिनोफानो ३० दिनभित्र हुनेछ । यसकारण पनि सत्ताको निर्णायक भिडन्त अझै सकिएको छैन । प्रधानमन्त्री ओली ढुक्क हुनसकेका छैनन् ।

अबको निर्णायक संघर्ष ३० दिनभित्र हुनेछ । त्यतिञ्जेल ओलीले विश्वासको मत लिन सकेमा उनी एक वर्ष ढुक्कले प्रधानमन्त्री भई आगामी निर्वाचन गराउन सक्छन् । विश्वासको मत लिन नसके उनलाई फेरि आफूविरुद्धको गठबन्धनलाई बहुमत बनाउनबाट रोक्नुपर्ने चुनौती हुनेछ । जसरी उनले २७ देखि ३० जेठको अवधिभर रोकेर सफलता हासिल गरे ।

ओलीले विश्वासको मत लिन नसकेपनि विरोधी गठबन्धनलाई रोक्न सके मध्यावधि चुनावमा जान सक्छन् । सत्ता उनको विरोधीको हातमा पुग्ने छैन । तर, ओलीविरोधी फेरि अन्तिम लडाईं जित्ने आशामा बढेका छन् । जसको संकेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् ।

आज संसद भवनमा प्रचण्डले धारा ७६ को उपधारा ५ को सम्भावना औल्याए । उनले माधव नेपालसँग सोही धारामा भेट हुने आशा समेत व्यक्त गरे । संसद भवनमै नेपालनिकट नेता भीम रावलले ओलीसँग छलफल मात्र भएको सहमति नभइसकेको बताए । यसले पनि सत्ताको निर्णायक संघर्ष एक महिनाभित्र हुने संकेत मिलेको छ ।
ओलीले जसपाको साथ लिएर विश्वासको मत लिने प्रयास थालिसकेका छन् । या त जसपालाई तटस्थ बस्ने अवस्था बनाउने र माधव नेपाल समूहका सांसदलाई पनि राजीनामाबाट रोक्ने रणनीति बनाइसकेका छन् । त्यस अनुसार ओलीको चाल देखिदैछ ।

ओलीविरोधी गठबन्धनसँग बहुमत सिद्ध गरी धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि केही विकल्प छन् । तटस्थ रहेको जसपाको महन्थ ठाकुर पक्षधरलाई गठबन्धनमा सामेल गर्न सक्छन् । सत्ताको गर या मरको लडाईंमा पुगे महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर भएपनि गठबन्धन बढ्न सक्छ । समय अझै बाँकी रहेकाले त्यस्तो गृहकार्य तत्काल नहुन सक्छ । तर, सम्भावना नभएको होइन ।

काँग्रेस र माओवादी केन्द्र एकतावद्ध भएर गठबन्धन बनाउन लाग्दा जसपालाई पनि एकतावद्ध बनाएर सामेल गराउन कम चुनौतीपूर्ण भने छैन । तर, ओलीविरोधी गठबन्धन त्यसमा लाग्ने सम्भावना पनि छ । बहुमतको सरकार गठन गरी एक वर्ष सरकार सञ्चालन गरी २०७९ मा चुनाव गराउने गरी गठबन्धन रणनीतिसहित बढ्न पनि सक्छ ।



प्रतिक्रिया दिनुहोस्