Logo

नवनियुक्त प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मको प्रतिवद्धता यस्तो छ



प्रधानमन्त्री केपी ओली
वैशाख ३१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उनले राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरे । महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उनले सचेत गराए ।

प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गरेका छन् । छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रीत हुने कुरामा जोड दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीहरुलाई आह्वान पनि गरे ।

अर्थमन्त्री विष्णु पौडेल
अर्थमन्त्री बिष्णु पौडेलले सरकारको सम्पूर्ण सामथ्र्य कोरोना रोकथाम र न्युनिकरणका साथै संक्रमितको प्रभावकारी उपचारमा लगाउने बताएका छन् ।
मन्त्री पदको सपथपछि सिंहदबारमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले कोरोना महामारीबिरुद्धको प्रयासलाई सघन र प्रभावकारी बनाउदै लैजाने बताएका हुन् । उनले संक्रमितको उपचारमा कुनै कमी हुन नदिन सरका गम्भीर रुपमा लागेको जानकारी दिए ।

त्यस्तै मन्त्री पौडेलले कोरोना महमारीबाट प्रभावित नेपालको अर्थतन्त्रलाई प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक रहेको भन्दै आगामी बजेट अर्थतन्त्रलाई गतिशिल बनाउने गरि आउने बताए ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध भएर लागेको बताएका छन् ।
शुक्रबार सिहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री ज्ञवालीले अन्तराष्ट्रिय नीतिलाई समयानुकुल अध्यावधिक गर्दै सरकारले अन्तराष्ट्रिय सम्बन्धलाई थप प्रभावकारी बनाउन खोजेको बताएका हुन् । कोरोना महमारीका कम हुने बितिकै बाह्य सम्पर्क बढ्ने जिकिर गरे । त्यस्तै मन्त्री ज्ञवालीले सरकारको कामलाई सफल बनाउनका लागि सवैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् । राजदूत लगाएतका नियुक्तीमा मन्त्रालयका कर्मचारीलाई पनि प्राथमिकतामा राख्ने उनको प्रतिवद्धता छ ।

त्यसैगरी जलवायु परिवर्तनका बिषयमा समेत अन्तराष्ट्रिय समूदायसंग हात्तेमालो गर्दै आवश्यक कार्यक्रम तर्जुमा गर्ने जानकारी दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले पशुपति आर्याघाटमा कोभिड १९ का संक्रमितको शवको दाहसंस्कार कार्यमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन स्वरूप प्रति शव एक हजार रूपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।

उनले पर्यटन क्षेत्रको उद्धार र राहतका लागि विशेष ध्यान पुग्ने गरी नीति र बजेट तर्जुमा गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए । सो अवसरमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयमा भैरहेको गतिबिधिको बारेमा जानकारी गराएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चार, दूरसञ्चार, हुलाकलगायत क्षेत्रमा विगतमा गर्न बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री गुरुङले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । आफ्नो पहिलो कार्यकाल विवादित नभएको जनाउँदै अब पनि प्रतिबद्ध भएर काम गरिने बताएका छन् ।
मन्त्री गुरुङले नेपालमा कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्