Logo

एमालेको वार्ता : सहमतिका लागि कार्यदल बनाउने निर्णय, ठोस सहमति भएन



वैशाख ३१, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित एमाले शीर्ष नेताहरूको वार्ताले सहमतिका लागि कार्यदल बनाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको करिब तीन घण्टा सम्म भएको वार्ताले ठोस सहमति भने जुटाउन सकेन । वार्तामा २०७५ जेठ २ गतेलाई टेकेर अघि बढ्ने विषयमा कुराकानी भएको र यसका लागि कार्यदल गठन गर्ने निर्णय भएको हो ।

पार्टीलाई एकताबद्ध बनाएर जाने कुरामा सबै सकारात्मक रहेको बताइएको छ । ओली र नेपालबीच बिहीबार पार्टीभित्रका समस्या समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदल बन्न बाँकी नै रहेका बेला शीर्ष नेताहरुसहित वार्ता चलेको हो ।

२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भएको नेता भीम रावलले जानकारी दिए । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको उनले बताए ।

नेपाल पक्षको वार्ता टोलीलाई केन्द्रीय सदस्यहरूले २०७५ जेठ २ अघिको स्थायी कमिटीको बैठक बसेर विवाद मिलाउन, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सबै विवाद समाधान गर्न र नभए सामूहिक राजीनामा दिने अडान राख्न कार्यादेश दिएका थिए । वार्तामा ओलीसहित उनी पक्षका नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी थिए । त्यसैगरी, एमाले वरिष्ठ नेता नेपालसँगै उनको पक्षबाट स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्