Logo

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो



काठमाडौं, जेठ १। गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ । गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट रिफिल गरेर एयर लिफ्ट तथा स्थलमार्गबाट आवश्यक अक्सिजन राजधानी ल्याउन सुरु गरेको हो ।

मन्त्रालयको समन्वय तथा पहलमा बिहीबार ६० तथा शुक्रबार ५९ गरी १ सय १९ वटा अक्सिजन सिलिन्डर नेपाली सेनाको स्काइ ट्रकमार्फत एयर लिफ्ट गरेर काठमाडौं ल्याइएको छ । शनिबारबाट स्थलमार्गबाट समेत भरिएका अक्सिजन सिलिन्डर ल्याउनेगरी मन्त्रालयले आवश्यक तयारी गरेको छ ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले कोभिड उपचारका लागि जीवनरक्षक औषधिका रूपमा रहेको अक्सिजन अभाव हुन नदिन तथा आपूर्ति तथा वितरण प्रणाली भरपर्दो तथा व्यवस्थित बनाएर अभाव हुनबाट रोक्न गृह मन्त्रालयले सक्रियता बढाएको जानकारी दिए । उनले यो कार्य अभियानकै रूपमा चलाइनेसमेत उल्लेख गरेका छन् ।

गृह मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न उद्योग आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिन्डर संकलन गर्ने कार्यसमेत तीव्र पारेको छ ।

यसका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई समन्वय जिम्मा दिएको छ भने संकलन काम प्रहरीमार्फत भइरहेको छ । संकलित अक्सिजन सीसीएमसीसँगको समन्वयमा वितरण गर्ने काम गृह मन्त्रालयले गरिरहेको छ ।

गृहले अस्पतालबाहेक अन्य प्रयोजनका लागि विभिन्न उद्योग, व्यवसाय, आयोजना, इन्जिनियरिङ कलेज, सीटीईभीटीका तालिम केन्द्र तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर स्वतःस्फूर्त रूपमा नजिकको स्थानीय प्रशासन, सुरक्षा निकायमा उपलब्ध गराई कोभिड उपचारको मानवीय कार्यमा योगदान दिनसमेत आग्रह गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्