Logo

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो



गोरखा, जेठ १ । कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाको शुक्रबार रिपोर्ट नआउँदै मृत्यु भयो। मृत्य भएको तीन घण्टापछि मात्रै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उनीहरू कोरोना पोजेटिभ भएको रिपोर्ट आयो।

गाउँगाउँमा संक्रमित बढेसँगै स्थानीय तहले संकलन गरी प्रदेश प्रयोगशालामा पठाएको स्वाबको रिपोर्ट पाँचरछ दिनसम्म पनि प्राप्त हुन नसकेको अवस्था छ। जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका अनुसार अझै एक हजारभन्दा बढीको रिपोर्ट आउन बाँकी छ।

सहिद लखन गाउँपालिका ४ का ४२ वर्षीय बाबुराम लामिछानेको पिसिआर रिपोर्ट शुक्रबार दिउँसो मृत्यु हुँदासम्म आएको थिएन। उनले वैशाख २६ गते स्वाब दिएका थिए। त्यस्तै पालुङटार नगरपालिका २ का ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा उपचारका क्रममा निधन भयो। उनले स्वाब २८ गते दिएका थिए। शुक्रबार मृत्य हुँदासम्म उनको पनि रिपोर्ट आएको थिएन।

ढिला गरी पिसिआर रिपोर्ट आउँदा जोखिम बढेको स्थानीय तहका स्वास्थ्य संयोजकहरूले बताएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot