Logo

वैशाख महीनामा मात्रै डेढ लाख संक्रमित थपिए, १६०८ जनाको मृत्यु



काठमाडौं, जेठ १ । वैशाख महीनामा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो । सो संख्या बढेर वैशाख ३१ गतेसम्म चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महीनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन् ।

वैशाख १ गते एकैदिन कोरोना संक्रमणबाट ६०३ जना संक्रमित भएकोमा शुक्रवार एकैदिन संक्रमितको संख्या आठ हजार ५२० पुगेको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पीसीआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

वैशाख १ गतेसम्म पीसीआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने वैशाख ३१ गते सो संख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

वैशाख महीनामा कोरोना निको हुनेको संख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट शुक्रवारसम्म मुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त संख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो ।

पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ संक्रमित निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय संक्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त संख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर एक हजार ७०५ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । एक हजार ३३४ संक्रमितको आइसियुमा तथा ३७१ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ संक्रमित आइसियुमा तथा २२० संक्रमित भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकामा मात्रै १८५ संक्रमितको आइसियुमा तथा १०५ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्