Logo

डोलेश्वरमा जसपाका सांसद बसेको खाएको बिल ९००६१



काठमाडौं, १ जेठ । ३० जनाको लन्च प्याकेजको प्रति व्यक्तिको रु. १४९० को दरले ४४७००, ३० जनाको हाइ टी, जुस, कफी र कुकीसहित प्रतिव्यक्ति रु. ८०० का दरले २४००० र मिटिङ हलको ११ हजार । छुट छैन, १० प्रतिशत सेवा शुल्क छैन, १३ प्रतिशत भ्याट जोड्दा कुल बिल उठेको रकम रु.९००६१ ।

यो बिल जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षधर सांसदहरु ३० जेठमा डोलेश्वर भिलेज रिसोर्टमा बसेको खाएवापत् उठेको हो । बिलमा जनता समाजवादी पार्टी लेखिएको छ ।

सत्ता संघर्ष चल्दा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झालगायत डोलेश्वर रिसोर्टमा पुगेका थिए । बबरमहलस्थित पार्टी कार्यालयबाट उनीहरु सिधै डोलेश्वर पुगेका थिए ।

नेकपा एमालेका सांसद महेश बस्नेतले उनीहरुको बसाईंको व्यवस्थापन गरेका थिए । उक्त रिसोर्टमा बस्नेत पनि जसपा नेताहरुको साथमा रहेको तस्बिर सार्वजनिक भइसकेको छ ।

जसपाको महन्थ ठाकुर पक्षधरले डोलेश्वर रिसोर्टमा संसदीय दलको बैठक बसेको दाबी गरेको छ । बिल पनि पार्टीकै नाममा राख्न लगाएको छ ।

जसपाका १३ सांसद डोलेश्वर पुगेका थिए । तर, बिलमा ३० जना बसेको र खाएको उल्लेख छ । नेताहरुको सहयोगी र कार्यकारिणी सदस्यमध्ये केही पनि पुगेका थिए ।
३० वैशाखमा सत्ताको खेल उत्कर्षमा पुगिरहँदा जनता समाजवादी पार्टीका सांसद भक्तपुरस्थित सिपाडोलको डोलेश्वर भिलेज रिसोर्टमा पुगेका थिए । रिसोर्टमा एमालेका सांसद महेश बस्नेतनिकटहरुको लगानी रहेको छ ।

सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, डोलेश्वर भिलेज रिसोर्ट रहेको वडा नं ८ का अध्यक्ष किरण थापा सक्रिय थिए । थापा उक्त रिसोर्टका लगानीकर्ता पनि रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्