Logo

कोरोना महामारीको असरः वीरगञ्ज भन्सारले भेट्टाउन सकेन राजस्व लक्ष्य



वीरगञ्ज, जेठ २। कोरोना महामारीले वैदेशिक व्यापार घटेपछि त्यसको असर भन्सारले उठाउने राजस्वमा देखिएको छ । आयातनिर्यात कारोबारका आधारमा मुख्य नाकास्थित वीरगञ्ज भन्सारले बितेको वैशाख महीनामा लक्ष्यअनुसार राजस्व उठाउन सकेन ।

वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७र७८ को वैशाख महीनाका लागि १९ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा १६ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । यो निर्धारित लक्ष्यको तुलनामा करीब १४ प्रतिशत कम भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधादेशको प्रभावले आयात घटेको भन्सारले बताएको छ । ‘वैशाखमा यो नाकाबाट पेट्रोलियम पदार्थ, नयाँ सवारी साधन र अन्य विलासिताका वस्तुको आयात घट्यो । यसको प्रभाव राजस्वमा पनि देखिएको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘कारोबार नै खुम्चिएपछि वैशाख महीनाको राजस्व असुली पनि घट्यो ।’

स्थानीय प्रशासनले वीरगञ्जमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञाका कारण सार्वजनिक सवारीका साधन चलेका छैनन् । सरकारले ढुवानी सेवालाई नियन्त्रण नगर्ने भने पनि सहजीकरणमा समस्याले अवरोध भइरहेको व्यवसायीहरूले बताएका छन् ।

सार्वजनिक सवारीसाधन नचलेपछि पेट्रोलियम पदार्थको आयात घटेको भन्सारले बताएको छ । नयाँ सवारीसाधनको जाँचपास पनि भएको छैन । वीरगञ्ज भन्सारले उठाउने राजस्वमा मुख्य योगदान दिने यी दुई वस्तुको जाँचपास नै घटेपछि राजस्व पनि घटेको पौडेलले बताए ।

निर्माणका सामग्री र उपकरणको आयात पनि घटेको छ । विकास निर्माणका काम प्रभावित भएकाले यस्ता सामग्रीको आयात खुम्चिएको भन्सारले बताएको छ । औद्योगिक कच्चा पदार्थको आयात पनि खस्किएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्