Logo

नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँग सामुहिक छलफल गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङकाअनुसार यस्तो महामारीकाबेला पनि अक्सीजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको समाचार आउनु दुःखद् भएको बताउँदै त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारवाही गरिने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन् ।

जनताको जिउधनको रक्षा गर्नु अहिले सरकारको पहिलो प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोभिड नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताए ।

अक्सिजन सिलिण्डर, औषधिजन्य वस्तु, अस्पतालका शैया तथा एम्बुलेन्सको भाडासमेत चर्कोरुपमा असुलिरहेको सूचना आफूकहाँ पुगेको बताउँदै प्रधानमन्त्री ओलीले भने “यस्तो महामारीकाबेला कमाउनेतिर होइन, जनताको जिउज्यानको रक्षामा ध्यान केन्द्रित गर्नुहोस्, कसैले सरकारी मापदण्डभन्दा बढी रकम असुली गरी पीडित जनतालाई थप पीडा दिएको पाइएमा सरकारले कारवाही गर्छ ।” नेता नेम्वाङले प्रधानमन्त्रीलाई उदृत गर्दै भने, “सरकार जनताको अभिभावक हो, समस्याकाबेला अभिभावकको भूमिका निर्वाह गर्छ, गर्दैछ त्यसमा निजी क्षेत्रको हातेमालो र सहयोग अपरिहार्य छ, सबै मिलेर कोभिडविरुद्ध लागौं ।” सरकारले आफ्नो सबै ध्यान र शक्ति जनताको स्वास्थ्यमा लगाउने उनले बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्