Logo

‘उपचारमा कमी हुनुहुँदैन’



काठमाडौं, जेठ २। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको महामारी साझा समस्या रहेको बताउनुहुँदै यस लडाइँमा सक्रिय सहभागी हुन सबैसँग आग्रह गरेका छन् ।

अहिलेको महामारीको सामना गर्न सकिने दृढता व्यक्त गर्दै उनले महामारीको लडाइँमा सरकारले थुप्रै काम गरेको र आगामी दिनमा पनि गर्न उत्सुक रहेको बताए । सरकारको प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायी, गैरसरकारी संस्था, गैरआवासीय नेपालीले सङ्गठित र एकद्वार प्रणालीमार्फत सहयोग गर्नसमेत उनको आग्रह छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार जनस्वास्थ्यविद्, सुरक्षा निकायका प्रमुखहरू, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्सलगायतका सरोकारवालासँग सामूहिक छलफल गर्दै ओलीले यस्तो बताएका हुन्। उनले औषधि, भेन्टिलेटरलगायतका उपकरणमा कमी नहुने जनाएका छन् ।

“कोरोनाको रोकथामका लागि सामाजिक दूरी कायम गर्नु र यसको चैन छुटाउनु नै मुख्य कुरा हो,” उनले गल्ली–गल्लीमा अहिले पनि पसल खुलेको, दिनभरि मानिस हिँडडुल गरेको पाइएको छ, प्रहरी लगाएर सम्झाइबुझाई गरी रोक्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । अक्सिजनको आपूर्ति नै अहिले मुख्य काम रहेको बताउदै उनले यसको आपूर्तिमा पर्याप्तता ल्याउन सम्बन्धित सबैसँग आग्रह गरे ।

अहिलेको होम आइसोलेसनमा पनि सङ्क्रमण बढेको हो कि भन्ने कुरा आइरहेकोमा होम आइसोलेसनलाई संस्थागत आइसोलेसनमा लैजानु राम्रो हुने उनले बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्