Logo

कोरोना कहरमैः रातो मच्छिन्द्रनाथको रथ तानियो



काठमाडौं, जेठ २ । कडा सुरक्षाको घेराबीच बुंगद्यों अर्थात् रातो मच्छिन्द्रनाथको रथ शनिबार पुल्चोकबाट करिब २ सय मिटर परसम्म तानिएको छ । उपत्यकाको सबैभन्दा लामो रथयात्राका रूपमा रहेको यस यात्रालाई यस वर्ष छोटो दूरीसम्म तानेर सम्पन्न गर्ने तय गरिएअनुसार रथ तानिएको हो ।

निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको स्थानलाई निधेषित क्षेत्र घोषणा गरेको थियो । रथ तान्ने अवधिभर पुल्चोक पुग्ने सातवटा नाका बन्द गरिएको थियो भने रथलाई बीचमा पारेर सुरक्षा घेरा हाल्न प्रहरी र सशस्त्र गरी ५ सय परिचालन गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको भनाई छ ।सुरक्षा कमान्ड मिलाउन वरिष्ठ उपरीक्षक वज्राचार्य र प्रहरी उपरीक्षक प्रज्वल महर्जनलगायत खटिएका थिए । रथ तान्ने अवधिभर जात्रा व्यवस्थापन समितिले निमन्त्रणा गरेका बाहेक सूचना विभागको पास भएका सञ्चाकर्मीलाई समेत सुरक्षाकर्मीले रथ तान्ने स्थानमा प्रवेश गर्न दिएको थिएन । रथको पांग्रा र अगाडिको घमा पूजा गरेपछि रथ तानिएको थियो । यसअघि गुठी संस्थानका प्रमुख खिमा वलीले रथमा ‘घकू’ राख्नेहरूलाई प्रतिकात्मकरूपमा पूजा सामग्री हस्तान्तरण गरेका छन्।

ज्यापू समाज यलःअन्तर्गत गाबहालःको आन्तरिक जात्रा व्यवस्था समितिबाट खटिएका करिब १ सय ५० जना स्वयंसेवकले चारवटा डोरी राखेर रथ तानेका थिए । सीमितरूपमा आएका गुरुजुको पल्टनले तोप पड्काएको थियो । धिमेबाजा पनि सीमित नै थिए भने नाय्खी बाजाको एक टोली आएका थिए । करिब दुई घण्टाको अवधिमा रथलाई रथ बनाइएको स्थान पुल्चोकबाट अशोक स्तुप अगाडिको मण्ड फल्चा (सोह्रखुट्टे) पाटीमा पु(याइएको थियो । मीननाथलाई परम्पराअनुसार टंगलबाट पुल्चोकस्थित महानगरपालिका कार्यालयसम्म तान्नुपर्नेमा टंगलबाट ५० मिटर परमात्र तानिएको थियो ।कोरोना संक्रमणको संख्या र मृत्युदर बढ्दै गएकाले गत वर्षझैं यो वर्ष पनि सांकेतिकरूपमा रथ तान्ने निर्णय गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित १९ वटा जातीय समाज खलः पुचःको गत वैशाख २८ गते बसेको बैठकले रथ सांकेतिकरूपमा तान्ने निर्णय गरेको थियो । बैठकले परम्परागत भोटो जात्रा नगरी रातो मच्छिन्द्रनाथलाई खटमा राखेर ज्योतिषीले निकालेका साइतअनुसार यही जेठ ५ गते बुंगमती पु¥याइने निर्णय गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्