Logo

सोमबारदेखि टेलिकमको ‘भीओएलटीई’ परीक्षण



काठमाडौं, जेठ २ । नेपाल टेलिकमले सोमबारदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) सेवा परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजीरएलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । “अन्तर्राष्ट्रिय आईटीयू डे (मे १७) अर्थात् यही सोमबारदेखि परीक्षण सुरु गर्न लागिएको हो,” उनले भने ।

प्रयोगकर्ताका लागि परीक्षण सुरु गर्नुअघि टेलिकमले भीओएलटीईका लागि उपयुक्त मोबाइल सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ । गत पुसदेखि नै भीओएलटीई चल्न सक्ने मोबाइलका सम्बन्धमा कम्पनीले बारम्बार परीक्षण गर्दै आएको थियो । “अब भने प्रयोगकर्ताकै तहमा यो सेवा परीक्षण हुनेछ,” अधिकारीले भने, “देशैभरका फोरजी प्रयोगकर्ताले सेवा लिन सक्नेछन् । ” यो परीक्षण भीओएलटीईको व्यावसायिक सुरुवातका लागि महत्वपूर्ण हुने उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्