Logo

ओलीलाई ‘छापामार शैली’मा हटाउने रणनीति



काठमाडौं, २ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने नयाँ रणनीतिका साथ विरोधी गठबन्धन सक्रिय भएका छन् । उनीहरुले ओलीलाई विश्वासको मत लिनबाट विफल पारेर धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्री बनाउने रणनीति बनाएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहका केही नेता यो रणनीतिमा सामेल भएको बुझिएको छ । उनीहरुले ओलीलाई विश्वासको मत लिनबाट विफल पारेपछि धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणका लागि राष्ट्रपतिबाट आव्हान हुने संवैधानिक प्रावधान अनुसार बहुमतको हस्ताक्षर जुटाउने रणनीति बनाएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम ओलीलाई प्रधानमन्त्री बन्न नदिने र निरन्तरताको अवसर पनि नदिने गरी नेताहरु रणनीति बनाएर लागेका छन् । उनीहरुले प्रधानमन्त्रीको विकल्पमा केही व्यक्तिहरुको नाम तयार गरेर सहमतिको प्रयास थालिसकेका छन् ।

ओलीविरोधी गठबन्धन बनाउन जनता समाजवादी पार्टीलाई प्रधानमन्त्री दिने गरी सहमति हुने सम्भावना पनि बढेको छ । महन्थ ठाकुर प्रधानमन्त्रीका लागि प्रस्तावित हुनसक्ने बुझिएको छ । यसअघि नै जसपा नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री नबनेकालाई बनाएर सहमतिमा अगाडि बढ्न आव्हान गरिसकेका छन् । उनको संकेत महन्थतर्फ नै देखिन्छ ।

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पनि महन्थ ठाकुरको नाम प्रस्तव गरेका छन् । काँग्रेसभित्र रामचन्द्र पौडेल समूह ठाकुरको पक्षमा सकारात्मक छ । तर, देउवाले ग्रिन सिग्नल दिएका छैनन् ।

जसपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर जाँदा एमालेको माधवकुमार नेपाल समूहको पनि साथ मिल्ने भन्दै काँग्रेस र जसपाको एक पक्ष देउवालाई मनाउन लागेको छ । उनीहरु ओलीको विकल्प खोजिहाल्नुपर्ने पक्षमा छन् ।

जसपा नेता डा. बाबुराम भट्टराईले धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार बनाएर त्यही सरकारले चुनाव गर्नसक्ने औल्याएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि धारा ७६ को उपधारा ५ उल्लेख गर्दै माधव नेपालसँग त्यहीं भेट हुनसक्ने बताएका छन् । यही धारामा ओलीलाई छक्क पार्दै ओलीसँग राजनीतिक युद्ध जित्ने रणनीतिका साथ प्रचण्ड सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्