Logo

ओलीलाई सत्तामा पुर्याउन देखि टिकाउनसम्म ‘किङमेकर’ बनेका महेश



काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टीका ३२ मध्ये बहुमत सांसद प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनमा सामेल भएको भए ३० वैशाखको सत्ता संघर्षले अर्कै अवस्था ल्याउँथ्यो । प्रधानमन्त्री केपी शर्मा ओली विरोधी गठबन्धनले बहुमत देखाएर संविधानको धारा ७६ को उपधारा २ को प्रावधान अनुसार प्रधानमन्त्री बनाउन सक्थ्यो । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुले पनि राजीनामा दिनसक्थे ।

एमालेको विभाजनसँगै ओली प्रधानमन्त्री पदबाट हट्नुपथ्र्यो । त्यो सम्भावनालाई ओलीले टार्न सके । जसमा उनका विश्वासपात्र सांसद महेश बस्नेतले मुख्य भूमिका खेले ।
बस्नेतले २९ वैशाखमा सार्वजनिक रुपमै जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईमाथि सांसद अपहरण गरेको आरोप लगाए । उनले जसपाका तीनजना सांसदलाई भट्टराईले निवासमै थुनेको आरोप लगाएका थिए । जसपाभित्र महन्थ ठाकुर पक्षधर तीन सांसदलाई उपेन्द्र यादव समूहले तान्ने प्रयास गरिरहेको थियो । महेश बस्नेत जसपाभित्रको संघर्षमा प्रवेश गरिसकेका थिए । उनी ठाकुर पक्षमा बढी सांसद तान्न सक्रिय भएका थिए ।

बस्नेतले ३० वैशाखमा जसपाको महन्थ ठाकुर पक्षधर सांसदहरुलाई गुट छाड्न नदिन सक्रियता देखाए । बबरमहलबाट १३ सांसदलाई डोलेश्वर भिलेज रिसोर्ट पुर्याए । जसको पुष्टि उनी आफैले गरिसकेका छन् । डोलेश्वर पुगेका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, चन्दा चौधरीसहितका सांसदसँग महेश बस्नेतले तस्बिर पनि खिचाएका छन् । उनले ती सांसदहरुलाई आफूले व्यवस्थापन गरेको समेत बताए ।

जसपाका सांसदहरुसँग महेश बस्नेत । तस्बिर साभारः नेपाल प्रेस

बस्नेतले बहुमत सांसदसहितको जसपालाई ओलीविरोधी गठबन्धनमा जानबाट रोकिदिए । त्यसका लागि उनले ठूलै शक्ति लगाएका थिए ।

३० वैशाखको राति ९ बजेसम्म जसपा गठबन्धनमा सहभागी नभएपछि ओली एक घन्टा नबित्दै प्रधानमन्त्री नियुक्त भए । जसपाको शक्तिसंघर्षमा बस्नेत हावी भएपछि माधव नेपाल समूहले बहुमत नपुग्ने बुझेर पछि हटिसकेको थियो । ओलीसँग नेपालले मौखिक सहमति गरेर राजीनामा रोके ।

विगतमा पनि महेश बस्नेतले तत्कालीन समाजवादी पार्टी नेपाल फुटाउन भुमिका खेलेका थिए । ४० प्रतिशत सांसद संख्या पुर्याएर समाजवादी पार्टी फुटाउन महोत्तरीबाट सांसद डा.सुरेन्द्र यादवलाई ल्याएका थिए । पछि यो घटनामा अपहरण काण्डका रुपमा चर्चित भयो । १० वैशाख २०७७ मा महोत्तरीबाट ल्याएर होटल मेरियटमा राखिएका यादव भोलिपल्ट होटल छाडेर गए । उनले आफूलाई अपहरण गरेको आरोप महेश बस्नेतसहित तीनजनामाथि लगाए । त्यतिबेला असफल भएका बस्नेत यसपाली जसपाभित्र घुसेर ओलीको सत्ता टिकाउने किङमेकर बनेका छन् ।

विगतमा ओलीलाई एमाले अध्यक्ष बनाउन पनि बस्नेतको महत्वपूर्ण भूमिका थियो । त्यसपछि उनका मुख्य प्रतिष्पर्धीलाई चुनाव हराएर बाटो सहज बनाएका थिए । बामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउन बस्नेतले आफूनिकटस्थलाई लगाएको एमालेभित्र अझै चर्चामा छ । गौतम स्वयंले बस्नेतमाथि चुनाव हार्नुमा कारण रहेको भन्दै औंला ठड्याएका थिए ।

गौतम बर्दियाबाट चुनाव जितेर आएको भए प्रधानमन्त्रीको दाबेदार बन्थे । ओलीलाई उनीबाट ठूलो चुनौती हुन्थ्यो र संसदीय दलमा चुनाव जित्न कठिन हुन्थ्यो । चुनाव हारेर पनि गौतमले प्रधानमन्त्री पदको दाबी गर्न छाडेका थिएनन् । संविधान संशोधन गरेर हुन्छ या प्रतिनिधि सभाको उपनिर्वाचनबाट सांसद बनेर भएपनि प्रधानमन्त्री बन्ने महत्वाकांक्षा छाडेनन् । यही बुझेर महेश बस्नेतले गौतमलाई चुनाव हराउन भूमिका खेलेका थिए । गौतम चुनाव हारेपछि ओली निर्विकल्प बनेर एमाले संसदीय दलको नेता चयन भई प्रधानमन्त्री बनेका थिए ।

बस्नेतको यही भूमिकाका कारण उनी ओलीका सधै प्रीय भए । बस्नेतको सत्ता सञ्चालनमा निकै महत्वपूर्ण भूमिका देखियो । उनको प्रभाव विभिन्न नियुक्त देखि सरकारका महत्वपूर्ण निर्णयहरु उनले चाहे बमोजिम भएबाट पनि बुझ्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्