Logo

दाङमा अटो एम्बुलेन्स सञ्चालनमा



देउखुरी, २ जेठ: कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् ।

नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए । अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । सङ्घले अटो चालकको रु पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई सेट उपलब्ध गराइएको उनले बताए ।

रोटरी क्लब अफ दाङले लकडाउनका बेला बिरामीलाई सहजताका लागि थप पाँच अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डा चेतनारायण पाण्डेले जानकारी दिए । पाँच अटो सञ्चालनमा ल्याएर शुरु गरिएको अटो एम्बुलेन्सलाई अहिले १० पु¥याइएको छ ।

अटो एम्बुलेन्सका साथै रोटरीमार्फत पाँचजना चिकित्सकले सामाजिक सञ्जालमार्फत कोरोनासम्बन्धी परामर्श प्रदान गरिहेका बताइएको छ । तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । तुलसीपुरमा बिरामीलाई सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन गरिएको छ ।

कोरोना सङ्क्रमणदर रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण बिरामीले पछिल्लो समय सहजरुपमा एम्बुलेन्स सेवा पाउन नसकेपछि समयमै अस्पताल पुग्न सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन गर्न थालिएको हो ।

विपन्न नागरिकले सुलभ भाडादरमा बिरामीलाई अस्पताल लैजान-ल्याउन सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्स सञ्चालन अभियानका संयोजक मोहन सुनारले जानकारी दिए । उनीसहित तुलसीपुरका चार युवा दीपक कुमाल, सुनिलबाबु डाँगी र अजय दुलालले संयुक्तरुपमा अटो एम्बुलेन्स सञ्चालनको अभियान शुभारम्भ गरेका हुन् ।

अटो एम्बुलेन्सले तुलसीपुर आसापासका क्षेत्रमा सेवा दिने र साबिकमै लाग्दै आएको भाडा लिने अभियानका संरक्षक कुमालले जानकारी दिए । तुलसीपुरमा अहिले तत्कालका लागि नौ अटोले बिरामीलाई एम्बुलेन्सको सेवा प्रदान गर्ने उनले बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्