Logo

मैदानमा बादल भर्सेस खिमलाल, भित्री भिडन्त ओली भर्सेस नेपाल



काठमाडौं, २ जेठ । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त सिटमा अबको ४ दिनपछि निर्वाचन हुँदैछ । ६ जेठमा हुने निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल र बौद्धिक नेता डा. खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुँदैछ । बादलको चुनाव चिन्ह सुर्य र खिमलालको कलम छ । खिमलाल प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका साझा उम्मेदवार हुन् । उनी पछिल्लो समय एमाले नेता माधवकुमार नेपालनिकट छन् ।

राष्ट्रिय सभाको ६ जेठमा हुने निर्वाचन बादल र खिमलालबीचको प्रतिष्पर्धामा मात्र सिमित छैन । निर्वाचनमा हुने मतदानको तरिका र परिणामले देशको केन्द्रीय राजनीतिमा ठूलो असर पुग्न सक्छ । यो निर्वाचन भित्री रुपमा दुई एमाले नेताबीचको प्रतिष्ठाको लडाईं बनेको छ । ओली बादललाई जिताइछाड्न लागेका छन् । नेपाल खिमलाललाई जिताएर ओलीलाई धक्का दिन चाहन्छन् ।

एमालेभित्रको मत एक ठाउँमा खसेमा बादलको जीत सुनिश्चित हुनसक्छ । त्यसमाथि पूर्वमाओवादीका केही मतदाताको मत पनि आफूलाई खस्ने बादलको आशा छ ।
प्रदेश सांसद, स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयर उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने राष्ट्रिय सभाको प्रदेशको सिटमा मतभार भने फरक छ । मत भार केलाउँदा एमालेको बागमती प्रदेशमा बहुमत छ । तर, नेपाल समूहका उम्मेदवार कलम चिन्ह लिएर उम्मेदवारी दिएको र उनलाई काँग्रेस र माओवादी केन्द्रको समेत साथ भएकाले नतिजा भन्न सकिने छैन ।

एमालेभित्र सहमति बनाएर खिमलाल देवकोटाको उम्मेदवारी फिर्ता गराउने प्रयास नभएको होइन । तर, खिमलाल आफैले कुनै हालतमा उम्मेदवारी फिर्ता नगर्ने र त्यो राजनीतिक नैतिकताले पनि नदिने स्पष्ट पारिसकेका छन् । अब उनलाई माधव नेपाल पक्षीय मतदाताको साथ कसरी हुने त्यसले जीत हार टुंगो लाग्न सक्छ ।

माधव नेपाल स्वयंले खिमलालको उम्मेदवारीलाई ओलीसँगको प्रतिष्ठाको लडाईंका रुपमा लिएको देखिन्छ । बादललाई चुनावमा हराउन सके उनले ओलीविरोधी गठबन्धनको चुनावी शक्ति बलियो रहेको प्रमाणित गर्न सक्छन् । त्यसले अब हुनसक्ने ओलीविरोधी सत्ता गठबन्धनलाई पनि बल प्रदान गर्न सक्छ । उनी पक्षधर सांसद तथा नेताहरुलाई पनि कठोर कदम चाल्नका लागि प्रोत्साहित गर्न सक्छ । त्यसैले पनि नेपालले ६ जेठको राष्ट्रिय सभा चुनावलाई महत्व दिएको बुझिएको छ ।

राष्ट्रिय सभाको ६ जेठको चुनावमा बादललाई एमालेका माधव नेपाल समूहका प्रदेश सभा सांसद, मेयर उपमेयर र पालिका अध्यक्ष, उपाध्यक्षले मतदान नगरेमा नयाँ माहोल सृजना हुनसक्छ । मतदान गरेमा एमाले एकतामा अझ बल पुग्छ । अन्यथा विभाजनको आगो निभाउन मुश्किल पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्