Logo

नगरप्रमुख सङ्क्रमितलाई कोसेली बोकेर घरघरमा



खलङ्गा, २ जेठ: चन्दननाथ नगरपालिकाकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई कोसेली लिएर घरघरमा भेट्ने अभियान शुरुआत गरेको छ । अभियानमा नगरप्रमुख कान्तिका सेजुवाल सहित प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल र स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगी छन् ।

स्यानिटाइजर, मेडिकल मास्क, भिटामिन ‘सी’ र ‘डी’, च्यवनप्रास, एक क्यारेट अण्डा, साबुन र चना लिएर नगरपालिकाको टोली सङ्क्रमितको घरमा पुगेको नगरप्रमुख सेजुवालले जानकारी दिए । सङ्क्रमितको स्वास्थ्य अवस्थाको चिन्ता गरी घरदैलो अभियानमार्फत कोसेली दिने कामको शुरु भएको स्वास्थ्य शाखाका प्रमुख योगीले बताए ।

सङ्क्रमित भएका बिरामीलाई पौष्टिक तत्वको कमीले गर्दा स्वास्थ्य अवस्थामा समस्या नहोस् भनेर कोसेली लिएर घरमा पुगेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । आइसोलेशनमा बसेका नागरिकबाट अरू व्यक्तिमा कोरोना सर्न सक्ने भएकाले सचेत रहन सुझाव दिने काम भएको नगरपालिकाले जनाएको छ ।

गाउँमा सङ्क्रमित भएका कोरोनाका बिरामीहरुले भान्सा, शौचालय, खानेपानी धारा एउटै प्रयोग गरेको हुनाले अरू मानिसलाई सचेत हुन नगरपालिकाले आग्रह गरेको छ । सङ्क्रमितहरुलाई आफू सुरक्षित भइ घरपरिवार र समाजलाई सुरक्षित राख्न तथा नगरपालिकाले दिएको पौष्टिक तत्वको सेवन गर्न सल्लाह दिएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमितलाई स्वास्थ्य अवस्था गाह्रो भएमा खबर गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

सङ्क्रमित भएकाहरुलाई मास्कको नियमित प्रयोग गर्न, साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सल्लाह दिइएको छ । आत्मबल कमजोर भएका सङ्क्रमितको मनोबल बढाउन र गाउँमा हुने विवाह व्रतबन्धलगायत कार्यमा सरिक नहुन नगरप्रमुख सेजुलाले सबै नागरवासीलाई आग्रह पनि गरेका छन् ।

नगरपालिकाभित्र ५२ सङ्क्रमितहरु आइसोलेशनमा छन् । घरमा बसेका सङ्क्रमितलाई हेलचक्र्याइँ नगर्न भनिएको छ । नगरपालिकाको टोली कोसेली बोकेर घरमा पुग्दा सङ्क्रमित निकै खुशी भएको स्थानीयवासी केशवनाथ योगीले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्