Logo

देशभर निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ५ हजार ७ सय



काठमाडौं, २ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ५ हजार ७ सय ९५ जनालाई होल्डमा राखी प्रहरीले छाडेको छ । सो क्रममा ७ सय ५ वटा गाडी र १ हजार ५ सय १४ वटा मोटरसाइकल गरी २ हजार २ सय १९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ११ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ६ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार ३ सय ५१ जनालाई सचेत गराईएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्