Logo

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप



धनगढी, जेठ ३ । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध जित्नुजस्तै भएको छ । सेती प्रादेशिक अस्पतालमा बिहानै अक्सिजनका लागि लाइन लाग्नुपर्ने बाध्यता छ ।

अक्सिजनका लागि कहिले कता कहिले कता कुद्ने गरेका छन् । अब त अस्पतालको बाहिर गाडी आयो भने पनि संक्रमितका आफन्त अक्सिजन आयो भने त्यतै कुद्छन् । अस्पतालका कर्मचारी सबैलाई यसैगरी आशा बाँडिरहेका हुन्छन् । अलिकति भए पनि खुसी बाँडिरहेका छन् । जो रात–दिन नभनी अक्सिजनका लागि अक्सिजन उद्योगमा खटिरहेका छन् । र, अलिकति अक्सिजनसँगै सास बाँडिरहेका छन्, । जीवनको आशा बाँडिरहेका छन् ।

अहिले धनगढीका १० वटा निजी अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको छ । कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । सबै अस्पतालमा आएका संक्रमितका आफन्तले आफैँ अक्सिजन जोहो गरिरहेका छन् ।

उत्पादनभन्दा खपत कैयौँ गुणा बढी हुँदा धनगढी भन्सार रोडमा रहेको मालिका ग्यास उद्योगमा पनि मध्यरातसम्म बिरामीका आफन्तको घुइँचो हुने गरेको छ । सरकारले पर्याप्त मात्रामा अक्सिजन दिन नसक्दा बिरामीका आफन्तलाई नै अक्सिजनको व्यवस्था गर्न भन्नुपर्ने बाध्यता रहेको निजी अस्पताल संघका प्रदेश अध्यक्ष जनकराज जोशीले बताए । उनले भने, ‘हामीसँग पनि पर्याप्त अक्सिजन छैन । बिरामीका आफन्तले आफैँ अक्सिजन ल्याइरहनुभएको छ । अहिले अक्सिजन खोज्ने जिम्मा बिरामीकै आफन्तको जस्तो भएको छ ।’राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्