Logo

सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता



काठमाडौं, जेठ ३ । काठमाडौं–तराईरमधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्राइभेट लिमिटेड र प्याकेज–२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा दिइएको जानकारी दिए।

उनका अनुसार सम्झौतापत्रमा द्रूतमार्गतर्फबाट आयोजना प्रमुख एवं नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सनका कार्यकारी निर्देशक सु यान र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सनका प्रोजेक्ट प्रबन्धक प्रमुख श्रीमती सु तिनग्यु बारबराले हस्ताक्षर गरे ।

‘‘सम्झौताअनुसार दुईवटै प्याकेजको डिजाइनका लागि छ महिनासहित कुल निर्माण अवधि साढे तीन वर्ष रहेको छ’’ सैनिक प्रवक्ता पौडेलले भने, ‘‘पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ ।’’ द्रुतमार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ प्रारम्भिक अनुमान गरिएको छ ।

उनले पहिलो प्याकेजमा एउटा लामो सुरुङ र दोस्रो प्याकेजमा छुट्टाछुट्टै दुईवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने बताए। द्रुतमार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङमार्ग तथा हाइब्रिज निर्माण गर्नुपर्ने हुन्छ । उक्त द्रूतमार्गमा महादेव डाँडा, धेद्रे डाँडा र लेन डाँडामा सुरुङ निर्माण गरिनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्