Logo

स्थानीय तहकै सक्रियतामा अक्सिजन प्लान्ट



काठमाडौं, जेठ ३ । काठमाडौं उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् ।

कतिपय नगरपालिकाले नगरपालिकाभित्र भएका ठूला अस्पतालसँग सहकार्यमा र कतिपयले आफ्नै नगरस्तरीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सुरु गरिसकेका छन् । अहिलेसम्म काठमाडौँ महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्ने कार्य सुरु गरिसकेका छन् ।

काठमाडौँको कागेश्वरी मनोहरा र टोखा नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका र ललितपुर महानगरपालिकाले केही दिनभित्रै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिसकेको छ । महानगरको दुई करोड ७५ लाख रुपियाँ लागतमा यो अक्सिजन प्लान्ट निर्माण गरिएको हो । यो अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने महानगरले जनाएको छ ।

ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि महानगरले सो अस्पताललाई एक करोड रुपियाँ दिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्