Logo

अक्सिजन र बेड अभावमा मृत्युदर बढ्यो



बुटवल, जेठ २ । रूपन्देहीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। अस्पतालहरूमा अक्सिजन र शय्या अभावमा संक्रमितको मृत्युदर बढेको हो। पछिल्लो १० दिनमा यहाँका कोभिड अस्पतालमा उपचाररत एक सयजना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको कोभिड विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा उपचारत संक्रमितमध्ये अधिकांशले पर्याप्त अक्सिजन नपाएर ज्यान गुमाइरहेको मृतकका आफन्तको दाबी छ। त्यसो त अक्सिजनको मौज्दात सकिँदा गत बुधबार भैरहवाको भीम अस्पताल र बुटवलको कोभिड अस्पतालको आइसियूमा उपचारत ९ जनाको अक्सिजन नपाएरै मृत्यु भएको अस्पतालले नै पुष्टि गरेका छन्।

ती अस्पतालको ईमर्जेन्सी वार्ड, गल्ली र पेटीमै उपचार गराइरहेका बिरामीलाई पनि आवश्यक मात्रामा अक्सिजन नदिँदा छटपटाएरै संक्रमितको मृत्यु हुने गरेको अस्पतालमा कुरुवा बसेकाहरूको गुनासो छ। पछिल्लो एक महिनामा मात्रै जिल्लामा १२ हजार २१० जना संक्रमित थपिएका छन्। गम्भीर लक्षणसहितका संक्रमतिको संख्या बढिरहँदा अस्पतालमा शय्या र अक्सिजनको चरम अभाव भएको हो।

अक्सिजनको चरम अभाव भएपछि लुम्बिनी प्रादेशिक अस्पतालले ईमर्जेन्सीका बिरामीको अक्सिजन मास्क नै झिकिदिने गरेको छ। भेन्टिलेर र आइसियुका बिरामीलाई एक मिनेट पनि अक्सिजन रोक्नै नहुने भएकाले इमर्जेन्सिकालाई एकैछिन अक्सिजन रोकेर भए पनि ज्यान बचाउने प्रयासमा लाग्नुपर्ने बाध्यता रहेको लुम्बिनी प्रादेशिक अस्पतलका एक नर्सले बताइन्। तर बिरामीका आफन्तले भने आइसियुमा बेड नपाएर इमर्जेन्सीमा राखिएकै सिकिस्तै बिरामीलाइ पर्याप्त अक्सिजन नदिँदा मृत्यु हुने गरेको दाबी गरेका छन्।

पछिल्ला केही दिनमा अक्सिजनको चरम अभाव भएपछि सरकारी अस्पतालले नै भेन्टिलेटर, आइसियू र एचडियूमा भर्ना भएकै बिरामीका आफन्तलाई समेत अक्सिजनको व्यवस्थापन आफैं गर्न भनेका छन्। जसका कारण अक्सिजन नपाएर बिरामी अस्पतालको शय्यामा छटपटाइरहँदा आफन्त सडक पेटीमा हारगुहार गरिरहेका छन्। अस्पतालबाहिर, चौर सडकसम्मै बेड र अक्सिजन खोज्ने संक्रमित र आफन्तको बेहाल छ। अस्पतालहरूमा बेड नपाएर होम आइसोलेसनमा बसेका बिरामीको उस्तै बिजोग छ।

बुटवलको कोभिड अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भिम अस्पताल, भैरहवा मेडिकल कलेज, मणिग्रामको क्रिमसन अस्पतालले दुईरचार घन्टाका लागि अक्सिजन जुगाड गर्दै बिरामी बचाउँदै गरिरहेका छन्। बिरामीको उपचारका खटिनुपर्ने चिकित्सकहरू नै अक्सिजनको जुगाडमा खटिनु परिरहेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्