Logo

प्रधानमन्त्री ओलीले कहिले लेलान् विश्वासको मत ?



काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको २६ दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वाध्यात्मक व्यवस्था छ ।

धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने ओलीले उचित मौका पर्खिइरहेका छन् । उनले विश्वासको मत पक्षमा पार्न गृहकार्य शुरु गरिसकेका छन् । जनता समाजवादी पार्टीको साथ लिने प्रयास चलिरहेको छ ।

एमाले एकता कायमै रहने र जसपाको ३२ मध्ये १३ सांसदले मात्र पक्षमा मतदान गरेमा ओलीलाई विश्वासको मत प्राप्त हुन्छ । त्यसैले उनी जसपाको महन्थ ठाकुर पक्षधरलई मनाउन सक्रिय छन् ।

एमालेको १२१ सांसद छन् भने जसपाको ३२ सांसद छन् । जसपामा महन्थ ठाकुर पक्षधर १६ सांसद देखिएका छन् । प्रतिनिधि सभामा तत्काल २६७ सांसद संख्या छ । २७५ सांसदमध्ये ४ निलम्बित र ४ सिट रिक्त छ । बहुमतका लागि १३४ को मत भए पुग्छ ।

जसपाको महन्थ ठाकुर पक्षधर १६ सांसदमध्ये १३ जना ३० वैशाखमा महेश बस्नेतको व्यवस्थापनमा डोलेश्वर रिसोर्टमा पुगेकाले ओलीले विश्वासको मत लिन उनीहरुलाई साथमा लिन खोजेको देखिन्छ । जसपाभित्र महन्थ ठाकुर पक्षधरको संविधान संशोधन र मुद्दा फिर्ताको मुख्य माग रहेको छ । त्यसमा ओलीले सकारात्मक रहेको सन्देश दिइसकेका छन् । तर, जसपाको ठाकुर पक्षधरले ओलीलाई साथ दिइरहने सम्भावना कम छ । तटस्थ बसेर कसैलाई साथ नदिएका ठाकुर आफै प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् । फेरि पनि उनी तटस्थ बस्ने सम्भावना बढी देखिन्छ ।

जसपाको ठाकुर समूह तटस्थ बसेमा ओलीलाई विश्वासको मत प्राप्त हुने सम्भावना कमजोर हुन्छ । त्यसपछि धारा ७६ को उपधारा ५ बमोजिम फेरि बहुमतको सरकार गठनको आव्हान राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनसक्छ । त्यसपछि देशले कि चुनाव कि एक वर्ष बहुमतको सरकारको बाटो समात्छ ।



प्रतिक्रिया दिनुहोस्