Logo

बादललाई १३२ मत दिने राप्रपाको निर्णय, कमल थापाको ओलीसँग रणनीतिक गठबन्धनको पूर्वाभ्यास



काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ जेठमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयन हुने चुनावमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न निर्णय गरेको छ । एमालेले सहयोगको लिखित पत्राचार गरेपछि राप्रपाले बादललाई मत दिने निर्णय गरेको हो ।

राष्ट्रिय सभा चुनावमा बागमती प्रदेशतर्फ राप्रपाका २ प्रदेशसभा सदस्यहरु, गाउँपालिका अध्यक्ष १ र उपाध्यक्ष १ छन् । प्रत्येक प्रदेश सभा सांसदको मतभार ४८ हुन्छ । प्रदेशसभामा राप्रपाको मतभार ९६ छ । गाउँपालिका अध्यक्ष या उपाध्यक्षको मतभार १८ हुन्छ । २ जना जनप्रतिनिधि राप्रपाका रहेकाले उनीहरुको मतभार ३६ हुन्छ । राप्रपाको कुल मतभार बागमती प्रदेशमा १३२ छ ।

पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटता बनाइरहँदा पछिल्लो निर्णय आएको हो । थापाले ओलीको पछिल्ला कदमलाई प्रत्यक्ष अप्रत्यक्ष समर्थन गर्दै आएका छन् । ओलीले मध्यावधि चुनावको चाहना राख्दै कदम चाल्दा थापाको पनि त्यसमा समर्थन रहने गरेको छ ।

राप्रपाभित्रको एउटा पक्षले अध्यक्ष कमल थापाले भविष्यमा हुने संघीय संसदको चुनावमा ओलीसँग गठबन्धनका लागि अग्रिम तयारी गरिरहेको रुपमा पछिल्लो निर्णयलाई लिएको छ । थापा स्वयं र उनीनिकट उम्मेदवारले संसदको आगामी चुनावमा एमालेको साथ पाउने आशामा भुमिका देखाइरहेका छन् । बहुदल आएपछि भएका चुनावमध्ये २०५१ सालको चुनावमा मात्र मकवानपुरबाट निर्वाचित भएका थिए । उनी एकपटक समानुपातिक उम्मेदवार भई सांसद बने । मकवानपुरबाट चुनाव जित्न थापालाई जहिले पनि कठिन पर्ने गरेको छ । उनले यसपटक गठबन्धन गरेर चुनाव जित्ने अग्रिम तयारीहरु गरिरहेका छन् ।

राप्रपा अध्यक्ष कमल थापाको ओलीसँग एउटै क्याबिनेटमा काम गरेको अनुभव पनि छ । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी उपप्रधानमन्त्री बनेका थिए ।
पछिल्लो समय ओलीले हिन्दुत्वको मुद्दालाई प्रत्यक्ष अप्रत्यक्ष उठाएपछि कमल थापा र ओलीबीच निकटता अझ बढेको छ । राष्ट्रिय सभा चुनावमा एमाले उम्मेदवारलाई साथ दिने राप्रपाको निर्णय कमल थापाको ओलीसँग सम्भावित रणनीतिक गठबन्धनको सन्देश पनि हो ।



प्रतिक्रिया दिनुहोस्