Logo

शेयरबजारको उकालो यात्रा निरन्तर



काठमाडौं, जेठ ४। कोभिड महामारीको बीच उकालो लाग्न शुरू गरेको नेपालको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमवार शेयरबजारको कारोबार मापक नेप्से परिसूचक २ हजार ७५९ दशमलव २१ विन्दुमा पुग्योे । यस दिन २० दशमलव ७१ अंक अर्थात शून्य दशमलव ७६ प्रतिशतले परिसूचक उकालो लागेको हो ।

२०७५ माघ २९ गते १ हजार १११ विन्दुदेखि उकालो लागेको बजार १ हजार ६४८ विन्दुभन्दा बढी उक्लिसकेको छ । नेप्से परिसूचकसँगै पछिल्लो समय शेयरबजारमा कारोबार रकमले पनि उच्चता कायम गर्दै आएको छ । आइतवार रू। १० अर्ब ४० करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । सोमवार रू। ९ अर्ब ५७ करोड ६३ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।

कोभिड महामारीका बीच पनि बजारले निरन्तर गति लिनु र कारोबार रकम बढ्नुमा लगानीकर्ताहरू बढ्नु कारण मानिएको छ । कोभिडका कारण आआफ्नै पेशा व्यवसायमा व्यस्त मानिसहरू ती व्यवसाय प्रभावित हुँदा निरन्तर सञ्चालन रहेको शेयरबजारप्रति आकर्षित भएको बजार सञ्चालकहरू बताउँछन् ।

नेप्सेका अनुसार हाल धितोपत्र दोस्रो बजारमा ६ लाखभन्दा बढी लगानीकर्ता सहभागी छन् । यो संख्या १ वर्ष अघिसम्म करीब १ लाखको हाराहारीमा थियो । बजारमा नयाँ कम्पनीहरूको प्रवेशले पनि लगानीकर्ताको सहभागिता बढाएको हो । यो वर्ष मात्र दोस्रो बजारमा नेपाल पुनर्बीमा कम्पनी सहितका डेढ दर्जन बढी कम्पनी धितोपत्र दोस्रो बजारमा भित्रिएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्