Logo

घटेको छैन संक्रमण दर



काठमाडौं, जेठ ४ । शनिवार र आइतवार कोरोना संक्रमितको संख्या घटेको देखिए पनि सोमवार भने यो संख्या बढेको छ । परीक्षणको संख्या घटेपछि संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणको दर भने घटेको देखिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा २२ हजार ८७ जनाको परीक्षण गरिएकोमा ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको छ । यो परीक्षणको ४२ प्रतिशत हो । मन्त्रालयले विगत केही सातायता २० हजार भन्दा कम मानिसको पीसीआर परीक्षण गर्दै आएकोमा सोमवार परीक्षण बढाएको हो । मन्त्रालयका अनुसार आइतवार कोरोनाबाट थप २१४ जनाको मृत्यु भएको छ ।

आइतवार १९ हजार ८८३ को र शनिवार १८ हजार ५४८ को परीक्षण गरिएकोमा संक्रमितको संख्या केही घटेको देखिएको थियो । संक्रमणको दर भने आइतवार ३७ प्रतिशत थियो भने शनिवार ४४ प्रतिशत रहेको थियो छ । संक्रमण दर गत साता ५० प्रतिशतभन्दा बढी रहेकोमा विगत १ सातामा संक्रमणको दर स्थिर रहेको देखिएको छ ।

जनस्वास्थ्यविद् डा शेरबहादुर पुन तत्काल केही भनिहाल्न सकिने अवस्था नरहे पनि तथ्यांक हेर्दा सकारात्मक नतिजा देखिने लक्षण देखिएको बताउँछन् । ‘परिवारभित्र संक्रमण फैलिएकाले अहिले त्यसको नतिजा देखिइरहेको छ भने समुदायस्तरमा चेन केही मात्रामा ब्रेक भएको देखिएको छ,’ उनले भने, ‘केही साता कडाइका साथ निषेधाज्ञा पालना गरे संक्रमण घट्दै जाने संकेत देखिएको छ ।’ उनले अहिलेसम्मको तथ्यांकलाई हेर्दा आगामी साताबाट संक्रमण घट्दै जाने संकेत देखिएको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्