Logo

‘टाउ टेई’को असर नेपालमा पाँच दिन पर्ने



काठमाडौं, जेठ ४ । अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।

अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु(याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने भएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार, “सोमबारदेखि आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्नेछ, शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ ।” जसअनुसार सोमबार मध्यदेखि नै नेपालको अधिकांश आकाशमा बादल लागेको छ ।

उनका अनुसार भारतमा यस चक्रवातको असर विगत केही दिनयतादेखि नै चर्को रूपमा देखिएको छ । तर त्यो असर नेपालसम्म आइपुग्दा कमजोर हुने भएकाले पनि ढिला र कम असर पर्ने सम्भावना रहेको जनाईएको छ । महाशाखाका अनुसार मङ्गलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ । बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना महाशाखाले औँल्याएको छ ।

अबको चार दिन मौसम खराब रहने भएकाले नेपालका पश्चिमी हिमालमा हिमपात हुने र हावा चल्ने हुनाले त्यस क्षेत्रमा आरोहण नगर्नसमेत महाशाखाले सचेत गराएको छ । अरब सागरबाट पश्चिम भारत हुँदै जमिनमा उत्रने सो चक्रवातको असर पनि नेपालको पश्चिमी भेगमा बढी पर्नेछ । गण्डकी, लुम्बिनी र कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षा हुने पनि लक्षण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्