Logo

गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा बढ्यो जोखिम



म्याग्दी, जेठ ४ । होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगर्दा ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पताल भर्ना हुन थालेका छन्। कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आए पनि सामान्य सम्झिएर घरमै बस्ने गरेका संक्रमति ढिलो गरी अस्पतालमा पुग्दा ज्यान गुमाउनेको संख्या बढेपछि एक सातायता बेनी अस्पतालमा भर्ना हुने कोरोना संक्रमतिको संख्या बढेको छ। आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमति भर्ना भएकोमा हाइ फ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य शरीरमा अक्सिजनको कमी भएका र निमोनियाका बिरामी रहेको बेनी अस्पतालले जनाएको छ।

म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने अधिकांश बिरामीको शरीरमा अक्सिजनको मात्रा निकै कम र निमोनियाका कारण देखिएपछि र गम्भीर खालका लक्षण भएका संक्रमितलाई अस्पतालले उपचारका लागि आउन अनुरोध गरेको थियो। अस्पतालमा भर्ना भएका संक्रमितमा अक्सिजनको कमी हुँदा घरमै अक्सिजन सिलिण्डर प्रयोग गर्ने र त्यसले समेत सुधार नभएपछि अस्पतालमा आउँदा हाइ फ्लो अक्सिजनका दिनुपर्ने अवस्थाका छन् भने केही सचेत भएर समयमै आएकाले नर्मल अक्सिजन दिएपनि हुने अवस्थामा रहेको अस्पतालले जनाएको छ। त्यस्तै कोरोना संक्रमति निमोनिया लिएर आउन थालेका छन्।

अस्पतालका मेडिकल कोअर्डिनेटर डा।नवराज बस्ताकोटीले सास फेर्न समस्या भएका बिरामी अस्पतालमा भर्ना हुन थालेको बताए। ‘निको हुन्छ भन्दै घरमा बसेका संक्रमति सुधार नभएपछि अस्पतालमा आउने गर्नुभएको छ,’ डा।बस्ताकोटीले भने। उनले कोरोना संक्रमतिले घरमै जोखिम मोल्न नहुने बताए। लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति होम आइसोलेसनमा बस्दा फरक नपर्ने तर शरीरमा असज महसुश हुदाँहुदै पनि घरमा बस्न नहुने डा। बस्ताकोटीको भनाइ छ। अक्सिजन दिएर स्वास्थ्य अवस्था सुधार हुन्छ भनेर घरमै बस्दा निमोनियाको समस्या बढेपछि अस्पतालमा आउने गरेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्