Logo

ओलीविरोधी गठबन्धनको अन्तिम अस्त्र बन्नसक्छ ‘महन्थलाई प्रधानमन्त्री’



काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत छिट्टै लिने बताइसकेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिने बताएका हुन् ।

विश्वासको मत लिन बढ्नुअघि ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको साथ लिन प्रयास गरिरहेका छन् । ठाकुरले उठाएको माग पूरा गरेर अगाडि बढ्ने उनको तयारी देखिदैछ । ठाकुर पनि ओलीप्रति सकारात्मक देखिएका छन् । यसअघि तटस्थ बसेर ठाकुरले ओलीको संविधानको धारा ७६ को उपधारा ३ बामेजिम प्रधानमन्त्री बन्नसक्ने अवस्था सृजनामा सहयोगी बनिदिएका थिए ।

ठाकुर ओलीसँग नजिकिएपछि उनलाई छुटाउने प्रयासहरु चलेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको ओलीविरोधी गठबन्धन ठाकुरलाई पक्षमा पार्ने रणनीतिमा देखिएको छ । त्यसका लागि उनलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने प्रयास समेत भएको छ ।

ठाकुरलाई काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री मान्न तयार भएमा कुरा मिल्ने सम्भावना छ । ठाकुरलाई बहुमतको प्रधानमन्त्रीका लागि धारा ७६ को उपधारा ५ बमोजिम अगाडि बढाउने तयारी भइरहेको छ ।

देउवा र प्रचण्ड तयार भएमा ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना बलियो रहन्छ । त्यतिबेला ओलीको विश्वासको मत लिन सफल हुने सम्भावना टर्छ र फेरि प्रधानमन्त्री बन्ने ढोका पनि बन्द हुनसक्छ । ओलीको हातबाट चुनावी सरकारको नेतृत्व लिने रणनीति पनि विफल हुनसक्छ ।

ओलीविरोधी गठबन्धनले अन्तिम अस्त्रका रुपमा महन्थलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लानसक्ने सम्भावना देखिएको छ । त्यो विफल भएमा ओलीले कि त २०७९ सम्मको मंसिरसम्म या त अर्ली इलेक्शनसम्म प्रधानमन्त्री बन्ने अवस्था रहन्छ ।



प्रतिक्रिया दिनुहोस्