Logo

दिपेन्द्रको निरन्तर दबाबमा बबरमलको बाटो पिच, शैलुङले साढे २ वर्ष झुलायो



काठमाडौं, ४ जेठ । काठमाडौंको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाले बिगारेको बाटो साढे दुई वर्षपछि बल्ल पिँच भएको छ । उक्त क्षेत्रका जनप्रतिनिधि बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले तीन महिना देखि निरन्तर दबाब दिएपछि ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनले साढे दुई वर्ष अघि मेलम्चीको पाइप बिच्छ्‌याउदा बिगारेको बाटो पिच गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहल कुरिया गाउँस्थित श्वेत बिनायक मार्ग र सूर्य मार्गको सडक गएराती पिच गरेको प्रदेशसभा सदस्य श्रेष्ठले बताए । ‘मेलम्चीको पीच सडकको जिम्मेवारी पाएको शैलुङ कन्स्ट्रक्सन आफ्नो दायित्वप्रति गैरजिम्मेवार बनेका कारण साढे दुई वर्षसम्म पीच सम्पन्न हुन सकेको थिएन’ उनले भने, ‘लामो समयदेखि हुन नसकेको सडकको बल्ल पीच सम्पन्न भएको छ।’
सूर्य मार्गको केही भागमा मेलम्चीको पाइप फुटेर पानी बगेकाले बाँकी रहेको ठाउँ पनि एक / दुई दिन भित्रै पिच हुने श्रेष्ठले जनाए । मेलम्ची खानेपानी उप आयोजनाको प्रमुख ई. कमल श्रेष्ठले बेवास्ता गरेपछि जनप्रतिनिधिहरुको पटक पटकको ताकेता पछि शैलुङले कार्य सम्पन्न गरेको उनको भनाई छ ।
११ नम्बरका वडाध्यक्ष हीरालाल तण्डुकारले पटक पटक उक्त बाटो पिच गर्न मेलम्ची खानेपानी उप आयोजनाका कर्मचारीलाई ताकेता गरेका थिए । तर आयोजनाका कर्मचारीले अटेरी गरेपछि प्रदेशसभा सदस्य श्रेष्ठ आफैं पटक पटक शैलुङको कार्यालयमा गएर बाटो पिच गर्न दबाब दिंदै आएका थिए । राज्यको संयन्त्रमा तहगत रूपमा हुने कमिसनको बाडफाडका कारण यस्ता कम्पनीहरूले सयौ स्थानमा हात हाल्ने र कार्य सम्पन्न नगर्ने प्रवृत्ति बढ्दै गएको उनको आरोप छ ।
यसका कारण जनता र जनप्रतिनिधिहरु प्रताडित हुनु परेको सांसद श्रेष्ठको गुनासो छ। ‘कति निरीह छ मेलम्ची उप आयोजना प्रमुख ई. कमल श्रेष्ठ पर्याप्त मात्रामा अग्रिम कमिशन लिई सकेको कारण निरीह बनेर आफूले भन्दा पनि नमानेको बहाना गर्ने अनि सम्बन्धित मन्त्रालय भईरहेको अनियमितताप्रति अनभिज्ञता प्रकट गर्ने यस्ता कमिशनको मिलोमतोको कारण विकासका पूर्वाधारहरू अलपत्र पर्ने गरेको पाईन्छ।’ उनले फेसबुक स्टाटसमा लेखेका छन् । यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण हुनु जरूरी रहेको सांसद श्रेष्ठको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस्