Logo

विश्व बजारमा तेलको मूल्य निरन्तर बढ्दै



काठमाडौं, ४ जेठ । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । कोरोना भाइरसको पहिलो लहर आउँदाको वर्ष २०२० भर मूल्य घटेको थियो । २०२० को अन्तबाट वृद्धि हुनथालेको तेलको मूल्य मङ्गलबार ६६ डलर प्रतिब्यारल पुगिसकेको छ ।

गत वर्ष महामारीका बखत तेलको मूल्य प्रतिब्यारल २० डलरमा झरिसकेको थियो । अहिले निरन्तर वृद्धि हुँदै तेब्बरभन्दा बढी पुगेको छ ।

मङ्गलबार विश्व बजारमा डब्लुटिआइ क्रुडको मूल्य प्रतिब्यारल ६७ डलर पुगेको छ । ब्रेन्ट क्रुडको ७०, ओपेक बास्केट र इन्डियन बास्केटको प्रतिब्यारल ६६ डलर पुगेको छ ।

विश्व बजारमा तेलको मूल्य वृद्धिसँगै नेपालमा पनि निरन्तर उकालो लागेको छ । नेपाल आयल निगमले पटक पटक तेलको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्य २ जेठको मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२३, डिजेल तथा मट्टितेलको मूल्य १०६ र आन्तरिक हवाई इन्धनका लागि मूल्य प्रतिलिटर ७८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्