Logo

बादललाई एमालेका सबैले मत हाल्नेमा ओली पक्ष ढुक्क



काठमाडौं, ४ वैशाख । राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने एक सदस्यका लागि बिहिबार हुने निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलमाथि सबैको ध्यान गएको छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका बादलको सांसद पद खारेज भएपछि सोही पदमा उनी एमालेबाट उम्मेदवार बन्दैछन् । तर, बादललाई एमालेका बागमती प्रदेशबाट निर्वाचित सबै प्रदेश सभा सांसद, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मत दिने सुनिश्चित भइसकेको छैन ।

नेकपा एमालेको माधव नेपाल समूहबाट खिमलाल देवकोटा समेत उम्मेदवार छन् । उनको कलम चिन्ह छ । देवकोटाले उम्मेदवारी फिर्ता लिनु नैतिकताले नदिने स्पष्ट पारिसकेका छन् ।

देवकोटालाई ब्याक गर्न ओली समूहले माधव नेपालमाथि दबाब बढाइरहेको छ । आज बादल आफै कोटेश्वर पुगेर नेता नेपालसँग भेटेका छन् । उनले आफूलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । नेपाल समूहको साथ नपाए बादललाई जित्न कठिन छ । देवकोटालाई काँग्रेस र माओवादी केन्द्रको साथ छ ।

यता बादल जित्नेमा ओली समूह ढुक्क छ । ओली समूहका प्रभावशाली नेता प्रदीप ज्ञवालीले नेकपा एमालेका निर्वाचित सबैले बादलको पक्षमा मत हाल्नेमा आफूहरु विश्वस्त भएको बताए । एमाले विवाद समाधान गर्न बसेको कार्यदलको बैठकपछि पत्रकारको प्रश्नमा ज्ञवालीले भने,‘एमालेका दुईवटा उम्मेदवार भन्न मिल्दैन, एउटा मात्र हो ।’ नेकपा एमाले र नेमकिपाको गरी दुई र एकजना स्वतन्त्र उम्मेदवार रहेको उनको जिकिर थियो ।

तर, कार्यदलको बैठकपछि पत्रकारको बादललाई मत दिनेबारे सोधिएको प्रश्नमा रावलले कुनै जवाफ दिएनन् । उनी प्रश्न सोधिएपछि पन्छिएर हिंडेका थिए ।



प्रतिक्रिया दिनुहोस्