Logo

बादललाई ‘माधव नेपालको पूर्ण सहयोग’



काठमाडौं, ४ वैशाख । राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने एक सदस्यका लागि बिहिबार हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले नेता माधवकुमार नेपालको समेत पूर्ण सहयोग पाउने भएका छन् । बादलका प्रेस संयोजक किरण भट्टराईले नेपालले पूर्ण सहयोग रहने बताएको जानकारी दिए ।

नेपाल निवास कोटेश्वर पुगेका बादललाई सहयोगको प्रतिवद्धता आएको भट्टराईले उल्लेख गरेका छन् । उनले नेपाल र बादलबीचको भेट सकारात्मक रहेको समेत जानकारी गराए ।

नेपाल पक्षले बादललाई सहयोग गर्ने नगर्नेबारे मुख खोलेको छैन । आज यसबारे पत्रकारले कार्यदलको बैठकपछि प्रश्न सोध्दा नेपालनिकट भीम रावलले कुनै जवाफ दिएनन् । उनी प्रश्न सोधिएपछि पन्छिएर हिंडेका थिए ।

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका बादलको सांसद पद खारेज भएपछि सोही पदमा उनी एमालेबाट उम्मेदवार बनेका हुन् । तर, बादललाई एमालेका बागमती प्रदेशबाट निर्वाचित सबै प्रदेश सभा सांसद, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मत दिने अझै सुनिश्चित भइसकेको छैन ।

नेकपा एमालेको माधव नेपाल समूहबाट खिमलाल देवकोटा समेत उम्मेदवार छन् । उनको कलम चिन्ह छ । देवकोटाले उम्मेदवारी फिर्ता लिनु नैतिकताले नदिने स्पष्ट पारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot