Logo

ढुवानीका साधनलाई ठाउँठाउँमा रोकेर सास्ती



विराटनगर, जेठ ५। ढुवानीका साधनलाई ठाउँठाउँमा रोकेर दुःख दिने, खाली गाडी गन्तव्यमा पुग्न नदिने अनि लोडअनलोडका कामदारले हिँड्न नपाउने भएपछि ढुवानीमा समस्या भएको छ ।

यही सास्तीका कारण राजधानी काठमाडौंबाट अन्य जिल्लामा खुद्रा सामान लिएर जाने ढुवानीका साधन १० दिनलाई बन्द गरिएका छन् । अन्य जिल्लाको अवस्था पनि उस्तै रहेको गुनासो ढुवानी व्यवसायीहरूले गरेका छन् ।

संयुक्त ढुवानी संघ, काठमाडौं ढुवानी व्यवसायी संघ र नेपाल सामान ढुवानी व्यवसायी संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरी १० दिनका लागि उपत्यकाबाट बाहिरी जिल्ला जाने सामानहरू ढुवानी नगर्ने बताएका छन् ।

उनीहरूले जेठ ११ गते सम्मका लागि दुई, चार किलो, दुई चार कार्टुन र एक दुई बोरा सामानहरू संकलन गरी जिल्लाजिल्लामा झार्दै जाने सामग्रीहरूको हकमा प्रशासनले समन्वय नगर्दा ढुवानी साधन चालक, सहचालक, लोडअनलोड गर्ने मजदूरले दुःख पाएको बताएका छन् । प्रशासनको ध्यानाकर्षण गर्न सामान ढुवानी नगर्ने निर्णय गरेको ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालले जानकारी दिए ।

वैशाख २२ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे माग पेश गर्दै ढुवानीका साधनहरूलाई निषेधाज्ञाका स्वास्थ्य मापदण्ड पालना गर्दै आवतजावतको सहज वातावरण मिलाइदिन ढुवानी व्यवसायी महासंघले ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष खनालका अनुसार प्रशासनले ढुवानी व्यवसायीहरूको कुरा नसुनेपछि उपत्यकाका तीनओटा संगठनले विरोधको कार्यक्रम राखेका हुन् ।

ढुवानीका साधन, कर्मचारी र मजदूरको हकमा ढुवानी कम्पनीको परिचयपत्र, बिलबीजकका आधारमा काममा निर्बाध जान आउन र ढुवानीको साधनलाई समेत नरोक्न गरिएको आग्रहविपरीत प्रहरीले विभिन्न स्थानमा गाडी रोकिदिनाले समस्या भइरहेको अध्यक्ष खनालले बताए ।

महासंघका महासचिव अरुणकुमार श्रेष्ठका अनुसार मालसामान ढुवानीकै क्रममा कतिपय स्थानमा अत्यावश्यक सामग्रीहरू लोड गर्न जाने र अनलोड गरिसकेपछि फर्कने ढुवानीका साधनहरू घण्टौंसम्म होल्ड गरिदिनाले असहज परिस्थिति सृजना भएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्