Logo

महन्थलाई प्रधानमन्त्री बनाउनेगरि विपक्षी गठबन्धन छलफलमा, देउवा-दाहाल सकारात्मक



काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल तुल्याउने र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा सरकार बनाउनेगरि गृहकार्य थालेको छ । यसअघि जसपाको सिंगो साथ पाउन नसक्दा संविधानको धारा ७६ को २ अनुसार सरकार गठनमा दाबी गर्न नगएको विपक्षी गठबन्धन अब भने वैकल्पिक सरकार निर्माणमा गहन रुपमा छलफलमा जुटेको छ।

यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि ठाकुरलाई नै प्रधानमन्त्रीमा अघि सारेर भएपनि वैकल्पिक सरकार बनाउनुपर्ने प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राखेका थिए । सुरुमा देउवा सकारात्मक भएका थिएनन् । तर, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरीपनि विस्थापित गर्नुपर्ने पक्षमा कांग्रेस नेतृत्वपनि पुगेको पाईएको छ । अहिले दोस्रो तहका नेताहरुले माओवादी केन्द्रका नेताहरु र जसपाका नेताहरुसँग गम्भीर छलफल तथा वार्ता गरिरहेका छन् ।

जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले पनि हिजोमात्रै संयुक्त विज्ञप्ती जारी गर्दै अब कसैको नेतृत्वमा सरकारमा नजाने बरु अवसर पाए आफ्नै नेतृत्वमा सरकार बनाउने जनाईसकेका छन् । ठाकुरलाई प्रधानमन्त्री बनाउने सवालमा यादवमात्रै होईन, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईपनि सकारात्मक छन् ।

उनले त बैशाख २८ गते नै पूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीबाहेकको नेतृत्वमा संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रष्ट संकेत थियो अबको प्रधानमन्त्री ठाकुरलाई बनाउनुपर्छ भनेर । पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुबीच वैकल्पिक सरकार बनाउनेबारे कसरत भैरहेको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाउने भएपछि संसद् विघटन गरेर आफ्नै नेतृत्वमा चुनावमा जाने चाहेको भन्दै ओलीलाई रोक्नको लागि हरेक विकल्पमा विपक्षी गठबन्धनका नेताहरुले लगातार छलफल गरिरहेका छन् । उनीहरु ठाकुरकै नेतृत्वमा अर्ली ईलेक्शनमा जानुपर्ने पक्षमा पुगेका छन् । अहिले वार्ता सकारात्मक रुपमा अघि बढिरहेको नेताहरुको दाबी छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्