Logo

पार्टीका नेताहरुलाई प्रचण्डको ब्रिफिङ : अब महन्थजीलाई नै प्रधानमन्त्री बनाउने तयारी छ



काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल पार्ने निश्कर्ष निकालेको छ । ओलीलाई विस्थापित गरेर विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरालाई फेरि प्रयास गर्ने माओवादीको निश्कर्ष छ । यसअघि पनि अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउन पहल गरेका थिए । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले साथ नदिँदा त्यो योजना सफल हुन सकेको थिएन । तर, पछिल्लो समय दाहालले आफूनिकट नेताहरुसँग अब ठाकुरलाई नै प्रधानमन्त्रीमा अघि सारेर भएपनि वैकल्पिक सरकार निर्माणको लागि ठोस पहल लिने बताउन थालेका छन् । यसको लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि वार्ता गरिरहेका छन् ।

प्रधानमन्त्री ओली यही बैशाख ३० गते राति संसदको सबभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्रीमा पूनः नियुक्त भएका हुन् । उनले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीले जेठ १५ गतेभन्दा अगावै विश्वासको मत लिने तयारी गरेका छन् । बजेट ल्याउनुभन्दा अघि नै विश्वासको मत लिनेगरि उनी आफ्ना पार्टीका नेताहरुसँग छलफलमा छन् । ओलीको यो तयारी थाहा पाएका विपक्षी दलहरु भने उनलाई विश्वासको मत लिन रोक्गरि छुट्टै छलफलमा जुटेका छन् । यसको लागि उनीहरुले जसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने तयारी गरेका छन् । हिजोमात्रै, जसपाका अध्यक्षद्धय ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ती जारी गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने अवसर आएमात्रै सरकार बनाउने नभए अरुको नेतृत्वमा नजाने निश्कर्ष निकालेका छन् ।

पछिल्लो समय नेपाली कांग्रेस र माओवादी केन्द्रमा पनि ओलीलाई रोक्नेगरि छलफल भएको छ । दुवै पार्टीका नेताहरुले बरु जसपालाई सरकारको नेतृत्व दिनुपर्ने तर ओलीलाई रोक्नुपर्ने निश्कर्ष निकालेका छन् । उनीहरुले ठाकुरकै नेतृत्वमा बरु चुनावमा जान सकिने पनि निश्कर्ष निकालेका छन् । तर, ओलीको नेतृत्वमा चुनावमा जान नहुने उनीहरुको भनाई छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आफूनिकट नेताहरुसँग अब ठाकुरलाई नै प्रधानमन्त्री बनाईनेगरि तयारी भएको ब्रिफिङ गरेका थिए । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्