Logo

दलको नेताबाट महतोलाई ब्याक गराउने तयारी



काठमाडौं, ५ जेठ । जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद समाधानतर्फउन्मुख छ । हिजोमात्रै अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए । तर, ठाकुरको एकल हस्ताक्षरसहित संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पुगेपछि भने फेरि जसपामा विवाद उत्पन्न भएको थियो ।

तर, शीर्ष नेताहरुले भने महतोलाई दलको नेता चयन गरिएको निर्णय सर्वसम्मतीमा नभएकोले यसमा पनि पूनर्विचार हुने प्रतिक्रिया दिएका छन् । अध्यक्ष उपेन्द्र यादवले पनि पार्टीले दलको नेता चयन नगरेको प्रतिक्रिया दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले पार्टीले दलको नेतामा अहिलेसम्म कसैलाई पनि चयन नगरेको स्पष्ट पारेका थिए । बरु, उनले यही जेठ ८ र ९ गते बस्ने कार्यकारिणी समितिको बैठकले दलको नेता चयन गर्ने जानकारी दिएका छन् ।

जसपाको विवाद मिलाउन सक्रिय भूमिका निर्वाह गरेका नेताहरुमध्ये एक हुन नेता राजकिशोर यादव । उनले दुवै पक्षका नेताहरुसँग बारम्बार छलफल गरेर पार्टी एकता जोगाउनको लागि पहल गरेका थिए । आजको दिनमा जसपा नै नेपालको वैकल्पिक शक्ति भएकोले यसलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको भन्दै नेताहरुलाई सहमतिका साथ अघि बढ्न दबाब दिएका थिए ।

नेता यादव यतिवेला पितृ शोकमा छन् । तर, उनले पनि दलको नेताबाट महतोलाई ब्याक गराउने तयारी भएको जानकारी दिए । बरु, सरकारको नेतृत्व गर्ने अवसर पार्टीलाई आए त्यसको लागि पहल गर्ने पनि उनले जनाए । त्यसो हुँदा ठाकुर नै प्रधानमन्त्रीको एकमात्र दाबेदार हुने उनको भनाई छ ।

हुन त महतोले पनि सरकारको नेतृत्व गर्ने अवसर पार्टीलाई आए आफू दलको नेताबाट ब्याक हुन तयार रहने कुरा यसअघि नै विश्वास दिलाईसकेका छन् । जसपाका बहुमत सांसदहरुको यही बैशाख ३० गते भक्तपुरको डोलेश्वर रिसोर्टमा बसेको बैठकले महतोलाई दलको नेता चयन गरेको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्