Logo

जति सत्तामा पुग्यो उति टुक्रिदै माओवादी छिन्नभिन्न, नेताहरु को कता



काठमाडौं, ५ जेठ । माओवादी शक्ति जति सत्तामा पुग्यो उति टुक्रिने क्रम निरन्तर चलेको छ । पहिलोपटक २०६५ सालमा सत्तामा पुगेपछि माओवादी विभाजनको कारण सत्ता नै बन्यो । सतहमा विचारको विषय आएपनि माओवादी विभाजनको कारण नै सत्ता बन्यो ।

पछिल्लो समय नेकपा निर्माणपछि पूर्वमाओवादी शक्तिशाली मन्त्रालयसहित सरकारमा गए । तर, सरकारमा गएकाहरुले नै प्रचण्डको साथ छाडे । यसरी पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको माओवादी अहिले छिन्नभिन्न अवस्थामा छ ।

२०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गर्दा धेरैले यसबाट दशकभित्रै ठूलो हिंसाको रुप लिन्छ भन्ने आँकलन गरेका थिएनन् । त्यसरी नै २०६५ सालको संविधानसभा चुनावमा उल्लेख्य सफलतासाथ सत्तामा आएको माओवादी त्यसको एक दशकमै छिन्नभिन्न हुने आँकलन गरेका थिए । तर, राजनीति सीधा रेखाबाट चल्दैन भन्ने प्रमाणित गर्दै माओवादी पार्टी छिन्नभिन्न भयो । माओवादी जनयुद्धका हस्तीहरु फरक दलमा सक्रिय छन् । उनीहरुबीच मित्रवत् सम्बन्ध छैन ।

२०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गर्दा धेरैले यसबाट दशकभित्रै ठूलो हिंसाको रुप लिन्छ भन्ने आँकलन गरेका थिएनन् । त्यसरी नै २०६५ सालको संविधानसभा चुनावमा उल्लेख्य सफलतासाथ सत्तामा आएको माओवादी त्यसको एक दशकमै छिन्नभिन्न हुने आँकलन गरेका थिए । तर, राजनीति सीधा रेखाबाट चल्दैन भन्ने प्रमाणित गर्दै माओवादी पार्टी छिन्नभिन्न भयो । माओवादी जनयुद्धका हस्तीहरु फरक दलमा सक्रिय छन् । उनीहरुबीच मित्रवत् सम्बन्ध छैन ।

विगतमा माओवादी
माओवादीले सल्काएको युद्धको आगोले देशको राजनीतिलाई दुरगामी असर पार्ने जग बसाल्यो । माओवादी देशकै शक्तिशालीमध्येको शक्ति बनेर आयो ।
माओवादी जनयुद्ध उत्कर्षमा पुग्दा उसले कहिले तत्कालीन राजा त कहिले नेपाली काँग्रेस र नेकपा एमालेसम्मलाई प्रयोग गर्न सक्यो । विदेशी शक्तिलाई समेत माओवादीले आफू अनुकूलको अवस्था निर्माण गर्न साथ लिन सक्यो ।

२०६२ सालमा ७ राजनीतिक दलसँग शान्ति सम्झौता गरेको माओवादी झन् बलियो भयो । सात राजनीतिक दलले बागडोर सम्हालेको २०६२÷६३ को जनआन्दोलनमा माओवादीको अप्रत्यक्ष भुमिका रह्यो ।

माओवादी शान्ति प्रक्रियामा आउँदा तत्कालीन नेकपा एमाले बराबरको सिट संख्या मनोनित गरिएर व्यवस्थापिका संसदमा प्रवेश गर्यो । त्यतिबेलासम्म माओवादी तेस्रो शक्तिकै हैसियतमा थियो । तर, २०६५ सालमा भएको पहिलो संविधानसभाको चुनावमा माओवादीले महत्वपूर्ण उपलब्ध हासिल गर्यो । बन्दुकबाट पहिलोपटक ब्यालेटमा आएको माओवादी संविधानसभामा सबैभन्दा ठूलो दल बन्न सक्यो । प्रत्यक्षतर्फ उसले बहुमत संख्यामा जीत हासिल गर्यो ।

पहिलो संविधानसभाले देशलाई गणतन्त्र घोषणा मात्र गरेन प्रचण्डलाई प्रधानमन्त्री समेत बनाउन सक्यो । तर, संसदीय राजनीतिमा पुगेपछि माओवादीभित्रको बिग्रह विस्तारै सुरु भयो ।

निरन्तर छिन्नभिन्न माओवादी
दोस्रो संविधानसभाको चुनाव भन्दा ठिक एक वर्ष अघि २०६९ मा माओवादी विभाजित भयो । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युस्टि पार्टी–माओवादी बन्यो । त्यतिबेला ड्यास माओवादी र क्यास माओवादी शब्द निकै चर्चामा आयो ।

प्रचण्ड र वैद्य समूहमा विभाजित माओवादीको छिन्नभिन्नले विस्तारै गति लिन थाल्यो । ड्यास माओवादीबाट नेत्रविक्रम चन्द विप्लव विभाजित भए । उनले भूमिगत दल चलाएर हिंसात्मक गतिविधि गर्न थाले । वैद्यलाई छाडेर रामबहादुर थापा बादल, मातृका यादवलगायत अलग भए । पछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा १० कम्युनिस्ट घटक एक भई माओवादी केन्द्र बन्यो ।

बाबुराम भट्टराईले २०७२ सालमा माओवादी पार्टी मात्र छाडेनन् कम्युनिस्ट राजनीति नै परित्याग गरे । उनले २०७३ मा नयाँ शक्ति पार्टी नेपाल गठन गरे । पछि संघीय समाजवादी फोरमसँग एकता गरी समाजवादी पार्टी स्थापना गरे । अहिले बाबुराम जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष छन् । एक दशक लामो माओवादी जनयुद्ध हुँदै आएका बाबुराम कहिल्यै कम्युनिस्ट नहुने गरी अलग भए ।

विप्लव अहिले शान्ति सम्झौता गरी नेपाल कम्युनिस्ट पार्टीका नाममा जनमतसंग्रहको एजेन्डा उठाएर सक्रिय छन् । उनले वैज्ञानिक समाजवादको एजेन्डा उठाएका छन् ।
मोहन वैद्य किरणको आफ्नै दल छ । उनले विप्लवसँग कार्यगत एकता गरेका छन् ।

माओवादी केन्द्र एमालेसँग एक भई नेकपा बन्दा गोपाल किराँतीले नेकपा माओवादी केन्द्र खोले । उनले उक्त दल निर्वाचन आयोगमा दर्ता समेत गराए । जनयुद्धबाट आएका किराँती पनि फरक दल र विचारका साथ सक्रिय छन् ।

रामबहादुर थापा बादलले २०७७ सालमा नेकपा विवाद ताका प्रचण्डको साथ छाडेका छन् । उनी अहिले नेकपा एमालेका नेता छन् । बादल समूहका मातृका यादव, देव गुरुङ, पम्फा भुसाललगायत हस्तीहरु भने माओवादीमै छन् ।

माओवादीका नेताहरु एकढिक्का भई हिंसात्मक जनयुद्ध लडे तर सत्तामा पुगेपछि छिन्नभिन्न हुनथाले । सत्ता राजनीतिको केन्द्रमा पुगेपछि माओवादी गुट उपगुट हुँदै टुक्रा टुक्रा भयो । विभाजनको क्रम अझै चलिरहेको छ । माओवादीपथबाट बढेका कतिपय नेताहरु कम्युनिस्ट राजनीति नै त्याग्ने निर्णयमा पुगे ।

जसरी २०५२ सालमा माओवादी जनयुद्ध शुरु हुँदा कतिपयले त्यसको प्रभाव कम आँकलन गरेका थिए त्यसरी नै माओवादी सत्तामा आएपछि यसरी छिन्नभिन्न होला भन्ने आँकलन कमैले गरेका थिए । सत्तासंघर्षका क्रममा माओवादी छिन्नभिन्न बन्न पुग्यो । नेताहरु कसैले आफ्नै दल खोले त कोही अर्को दलमा प्रवेश गरे । माओवादी आन्दोलन नै पतनको बाटोमा गयो ।



प्रतिक्रिया दिनुहोस्