Logo

कोभिड संक्रमितका लागि सक्रिय क्लोथ बैंक सामाजिक भवन निर्माणमा पनि सक्रिय



काठमाडौं, ५ जेठ । क्लोथ बैंक नेपाल कोरोना भाइरसको महामारीको बखत पनि निकै सक्रिय छन् । बैंकले कोरोना संक्रमित भई अक्सिजनको आवश्यक परेकालाई निःशुल्क सेवा दिने देखि किट तथा परामर्शको व्यवस्था समेत गरिरहेको छ ।

कोभिडको संक्रमित भई घरमै आइशोलेशनमा बसेकालाई अहोरात्र सुझाव र सल्लाह डाक्टरमार्फत् दिइरहेको छ । क्लोथ बैंक नेपालले डाक्टरहरुको व्यवस्था गरी परामर्श सहज बनाएको हो । क्लोथ बैंकले व्यवस्था गरेका डाक्टरहरुलाई जुनसुकै बेलामा सम्पर्क गरी परामर्श लिन सकिन्छ ।

यसैगरी, क्लोथ बैंकले तिरहुतिया गाछीको कम्पाउन्ड वाल वाहिर उपयोग विहिन रहेको केही जग्गामा कपडा बैंकको स्थापना गर्ने उद्देश्यले गुठी संस्थानबाट लिज एग्रीमेन्ट गरेर नयाँ भवन निर्माण कार्य सुरु गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गरेर नयाँ भवन निर्माण कार्य सुरु भएको जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष राजिब झाद्वारा जारी गरिएको विज्ञप्तिमा बैंकको हाल निर्माणाधिन भवन कित्ता नंं. २५ मा रहेको तथा सोही कित्तामा हाल नेपाल पत्रकार महासंघ धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ४ को कार्यालय, कृषि बजार, पाउरोटी फयाक्ट्री, फलफुल बजार र गोदाम तथा व्यावसायीक प्रयोजनका पसलका सटरहरु रहेको समेत जानकारी दिएको छ । हालको एतिहाँसिक तिरहुतिया गाछी कित्ता नं. ५२ मा रहेको सोही कित्ताको जमिनमा नेपाल राष्ट्र बैंकको गेष्ट हाउस र महेन्द्रनारायण निधी प्रतिष्ठानको भवन समेत निर्माण भएको उल्लेख गरिएको छ ।

भवनको करिव डेढ महिना अगाडि देखि निर्माण कार्य सुरु भएपनि भ्रमपुर्ण रुपमा प्रचारवाजी गरेको विज्ञप्तिमा बताइएको छ ।

संस्थाले यसको साथै क्लोथ बैंक समाजका लागि अक्सिजन प्लान्ट मात्र नभई भविष्यमा जन्मे देखि २० वर्ष मुनिका क्यान्सर पिडित बच्चाहरु तथा हृदय रोगीहरुलाई निःशुल्क उपचार गर्ने योजना सहित सो भवन दिर्घकालिन सोचका साथ निर्माण गरिरहेको पनि जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सवै राजनितिक दलको सामुहिक सदभाव र ति सवै पार्टीका प्रतिनिधीहरु समेत अभियानी रहेका बैंकलाई चौतर्फी सहयोग भए यस्ता धेरै सेवा समाजलाई निशुल्क प्रदान गर्ने हामी प्रतिवद्वता जाहेर गर्न चाहन्छौं । वाँकी रहेका प्राविधिक कामहरु पुरा नहोउन्जेल सम्म सो भवन तत्कालका लागि अक्सिजन शिलिन्डर भण्डारणका लागि मात्र प्रयोग हुने समेत जानकारीका लागि अनुरोध छ ।’

क्लोथ बैंक नेपाल गरिव विपन्न तथा नहुनेका लागि निशुल्क कपडा सहयोग गर्ने कपडा बैंकको रुपमा स्थापना भएकोे परोकपकारी संस्था हो ।

समाजिक परोपकारी निशुल्क सेवाहरुको विस्तार गरेको यस संस्थाले जाडो र शितलहरमा कपडा अभाव भएकाहरुलाई टोल, बस्ती र सुतिरहेको फुटपाथ सम्म आफै पुगेर कपडा सहयोग गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्