Logo

शंकर पोखरेलको मुख्यमन्त्री नियुक्तिविरुद्ध ४ दल अदालत जाने



काठमाडौं, ५ जेठ । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवको कदमविरुद्ध ४ दल अदालत जाने भएका छन् । आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक बसी सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेका हुन् ।

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ४ दलले शंकर पोखरेलको मुख्यमन्त्री नियुक्ति नेपालको संविधानको मर्म र भावना प्रतिकूल रहेको जिकिर गर्दै नियुक्ति बदरको माग गरी न्यायिक उपचारका लागि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने जनाएका छन् । निर्णयमा काँग्र्रेसका बिरेन्द्रकुमार कनोडियो, माओवादी केन्द्रका कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका सहस राम यादव, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद गौतमका अलावा सांसदहरु फखरुद्दिन खान, तुलाराम घर्ती मगर, पुर्मती ढंगा मगर, निर्मला क्षेत्री, रमा अर्याललगायतले हस्ताक्षर गरेका छन् ।

१९ वैशाखमा नेकपा एमालेका लुम्बिनी प्रदेशका संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले एकल बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त गरेका थिए । उनले बहुमत दाबी गरेपनि एमालेका एक सांसदले माओवादी प्रवेश गरेकी छिन् । अर्का एक सांसदले राजीनामा दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्