Logo

कोरोना सुन्नासाथ पति नै बेपत्ता



झापा, जेठ ६ । पेटमा दुई महिनाको बच्चा छ। शारीरिक अवस्था निकै कमजोर छ। मुस्किलले खुट्टा टेकिन्छन्। कति दिनदेखि पेटभरि खानसमेत नपाएकी झापा चारआलीकी कञ्चन रिजालको सोमबार कोरोना पोजेटिभ देखियो।

सामान्य ज्वरो र खोकी लागिराखेपछि कञ्चनले आइतबार सकिनसकी मेची अस्पताल पुगेर स्वाब दिएकी थिइन्। सोमबार उनको रिपोर्ट पोजेटिभ आएपछि बसिराखेको घरबाट घरभेटीले निकालिदिए। त्यसपछि माइतीको शरणमा पुगेकी कञ्चनलाई त्यहाँ पनि छिमेकीले बस्ने अनुमति दिएनन्।

उनी मंगलबार दिउँसो ४ बजेतिर श्रीमान्सँग चारआलीको आइतबारे हटिया लाग्ने ठाउँमा गइन्। त्यहाँ श्रीमान्ले उनलाई एउटा टेन्टमुनि राखे। केही खानेकुरा ल्याउँछु भनेर गएका, फर्किएरै आएनन्। बुधबार मेची कोभिड अस्पतालको आइसोलेसनमा पुगेकी उनले भनिन्, ‘मलाई झुक्याएर भाग्यो। अब मसँग न बस्ने ठाउँ छ न खानेकुरा। कोरोना जितेर फर्कें भने, कहाँ बस्ने होला रु’

मेची कोभिड अस्पतालकी नर्स एनी रिजालका अनुसार रातको ११ बजे उनलाई वडाध्यक्षले अस्पताल ल्याइपुर्‍याएका थिए। अस्पताल आउँदा उनीसँग एक जोर लुगा पनि थिएन। शरीर पूरै कामेको र बेस्सरी भोकाएकी थिइन्। बोल्नै नसक्ने अवस्थामा रहेकी उनलाई केही खाना दिएपछि मात्रै बोलेकी अस्पतालकी कर्मचारी लीला भट्टराईले बताइन्। उनले भनिन्, ‘आफन्त को छ, तपाईंको ?’ भन्दा ‘कोही छैन। कोरोना देखिएपछि बूढाले छाडेर भाग्यो। वडाध्यक्ष अंकलले अस्पताल ल्याइदिनुभएको भनिन्।’

कञ्चनमा अझै धेरै कमजोरी रहेकाले उनलाई स्लाइन दिइराखेको नर्स एनीले बताइन्। गर्भवती श्रीमतीलाई छाडेर मेचीनगर नगरपालिका– १३ चारआलीको तेलबारी बस्दै आएका सन्देश रिजाल फरार भएपछि कञ्चनको एक मात्र सहारा टुटेको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्